‘अगस्त्य’ निर्देशक सौरभको नयाँ फिल्म ‘द राइज अफ साम्राज्य’ घोषणा, भदौदेखि छायांकन


काठमाडौं – फिल्म ‘अगस्त्य’मार्फत एक्सन विधामा आफ्नो क्षमता प्रमाणित गरेका निर्देशक सौरभ चौधरीले नयाँ फिल्म ‘द राइज अफ साम्राज्य’ निर्माणको घोषणा गरेका छन्। सोमबार थिम पोस्टर सार्वजनिक गर्दै उनले फिल्मबारे औपचारिक जानकारी दिएका हुन्।

डार्क हर्स इन्टरटेन्मेन्टको प्रस्तुतिमा बन्ने यो फिल्म आगामी भदौदेखि पूर्वको कोशी ब्यारेक क्षेत्रमा छायांकन गरिनेछ। निर्माण टिमका अनुसार फिल्म नेपाली चलचित्र उद्योगकै अहिलेसम्मको ठूलो क्यानभासमा तयार हुनेछ।

सार्वजनिक गरिएको थिम पोस्टरमा आगोको लप्का, घोडामा सवार योद्धाहरू र आकाशमा फहराइरहेको रातो झण्डाले विद्रोह तथा क्रान्तिको संकेत गरेका छन्। पृष्ठभूमिमा मञ्चमा प्रस्तुत भइरहेको रामलीला प्रहसनले फिल्म कुनै ऐतिहासिक वा विशेष कालखण्डमा आधारित रहेको आभास गराउँछ।

फिल्मका निर्माता प्रवेश चौधरी र निला देव हुन् भने विश्वास बस्नेत (बेन) सह-निर्माता तथा शंकर पाण्डे कार्यकारी निर्माता रहेका छन्। ‘कर्नाली ब्लुज’ र ‘फिरफिरे’का चर्चित लेखक बुद्धिसागरले फिल्मको कथा तथा स्क्रिप्ट लेखेका हुन्। छायांकन निर्देशक मानकृष्ण महर्जन रहने फिल्मको दुई चरणमा गरी ७० दिनसम्म छायांकन गरिने तयारी छ।

सह-निर्माता विश्वास बस्नेतका अनुसार ‘द राइज अफ साम्राज्य’ नेपाली फिल्म उद्योगकै ठूलो स्केलको एपिक एक्सन ड्रामा हुनेछ। उनका अनुसार कथा, निर्माण शैली र प्रस्तुति सबै हिसाबले फिल्म फरक हुने अपेक्षा गरिएको छ। साथै, आगामी सातादेखि फिल्मका मुख्य कलाकारहरूको नाम क्रमशः सार्वजनिक गरिने निर्माण टिमले जनाएको छ।