‘पच्चीस पच्चीस’ निर्माण घोषणा, अभिषेक–खुसी–प्रमोद मुख्य भूमिकामा


काठमाडौं – चलचित्र ‘पच्चीस पच्चीस’ को औपचारिक निर्माण घोषणा भएको छ। निर्देशक सुब्रत आचार्यको निर्देशनमा बन्न लागेको चलचित्रमा युवा र अनुभवी कलाकारहरूको संयोजन रहने भएको छ।

चलचित्रमा अभिषेक खड्का, खुसी कार्की र प्रमोद अग्रहरि मुख्य भूमिकामा देखिनेछन्। साथै सामाजिक सञ्जालमार्फत लोकप्रिय बनेका दार्जिलिङका कमेडियन ‘भक्ते भाइ’ अर्थात् अमित सुब्बाले पनि यस चलचित्रमार्फत अभिनय गर्ने भएका छन्।

चलचित्रका निर्माता कर्ण कार्की हुन् भने सह–निर्माताको रूपमा अजय न्यौपाने र धीरेन्द्रलाल कर्ण रहेका छन्। दीपेन्द्र गौतमले कार्यकारी निर्माताको जिम्मेवारी सम्हाल्नेछन्।

चलचित्रको कथा निर्देशक सुब्रत आचार्य र जयाले तयार गरेका हुन् भने पटकथा सुशील देवकोटाले लेखेका छन्। छायांकन निर्देशनको जिम्मेवारी हरि हुमागाईंले सम्हाल्ने निर्माण टिमले जनाएको छ।

निर्माण घोषणा भएसँगै चलचित्रप्रति दर्शकमाझ उत्सुकता बढेको छ। कलाकार, प्राविधिक टोली र नयाँ संयोजनका कारण ‘पच्चीस पच्चीस’लाई नेपाली चलचित्र क्षेत्रमा प्रतीक्षित परियोजनाका रूपमा हेरिएको छ।