काठमाडौं – आगामी असोज २ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘झिँगेदाउ २’ को टिजर सार्वजनिक गरिएको छ। ललितपुरस्थित क्यूएफएक्स लबिममा आयोजित विशेष कार्यक्रमबीच १ मिनेट ५१ सेकेन्ड लामो टिजर सार्वजनिक गरिएको हो।
टिजरले पारिवारिक सम्बन्धमा आउने उतारचढाव, देउरानी–जेठानीबीचको घरायसी द्वन्द्व र भावनात्मक संघर्षलाई केन्द्रमा राखेको छ। सुरुवातमै हिउँवाला गौतमले मध्यरातमा घर छोडेको दृश्य देखाइन्छ भने त्यसपछि परिवारका सदस्यहरू उनीकै खोजीमा लागेको कथावस्तु प्रस्तुत गरिएको छ।
निर्माण टिमले पहिलो भागको स्वादलाई निरन्तरता दिँदै केही नयाँ मोड पनि थपेको देखिन्छ। विशेषगरी अभिनेता आर्यन सिग्देल साङ्लोले बाँधिएको रहस्यमय अवतारमा देखिएपछि कथाप्रति दर्शकको उत्सुकता अझ बढेको छ।
ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको यो चलचित्र सुपरहिट फिल्म ‘झिँगेदाउ’ को सिक्वेल हो। फिल्ममा केकी अधिकारी र आँचल शर्मा देउरानी–जेठानीको भूमिकामा छन् भने महेश त्रिपाठी र कुशल बिष्ट दाजुभाइका रूपमा देखिएका छन्।
यसका साथै सरोज खनाल, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभय राज बराल, उत्तम केसी, शिवहरि वैरागी, आशा भुषाल, रेन प्रधान, विनोद कुमार पौडेल, आशिष पुरुष, विष्णु सापकोटा र नरेन्द्र थापालगायत कलाकारको अभिनय रहेको छ।
परिच्छेद सेनको पटकथा तथा संवाद रहेको फिल्मको कथा गोविन्द फुयाल र शिशिर चालिसेले लेखेका हुन्। सुलभ प्रतिक देउजा र समीक्षा देउजाको लगानी रहेको फिल्म कपनगढी सिनेमा र फिल्म क्रिउ नेपालको प्रस्तुतिमा निर्माण भएको हो।
विष्णु घिमिरे ‘कल्पित’को डीओपी, मित्र डी. गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र रोशन श्रेष्ठको एक्सन निर्देशन रहेको फिल्म नेपालभर एप्पल इन्टरटेन्मेन्टले वितरण गर्नेछ।
टिजर सार्वजनिक कार्यक्रममा सहभागी अधिकांश फिल्मकर्मीले टिजरको खुलेर प्रशंसा गर्दै पूर्ण रूपमा पारिवारिक कथामा आधारित यस फिल्मले दर्शकको मन जित्ने विश्वास व्यक्त गरेका थिए। पहिलो भागले बक्स अफिसमा उल्लेखनीय सफलता हासिल गरेकाले ‘झिँगेदाउ २’ ले पनि त्यही सफलता दोहोर्याउने अपेक्षा गरिएको छ।



















प्रतिक्रिया