काठमाडौं । निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’को निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘चिरञ्जीवी भवः’को छायांकन सम्पन्न भएको छ। चलचित्रको छायांकन ५१ दिनमा पूरा गरिएको निर्माण पक्षले जनाएको छ।
जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको प्रस्तुतिमा निर्माण भइरहेको चलचित्रको छायांकन जेठ १५ गतेदेखि सुरु भएको थियो। धनकुटा, सुनसरी र काठमाडौंका विभिन्न स्थानमा चलचित्र खिचिएको हो।
निर्देशक आचार्यको अघिल्लो चलचित्र ‘परान’ व्यावसायिक रूपमा सफल भएपछि उनको दोस्रो चलचित्र ‘चिरञ्जीवी भवः’लाई दर्शकमाझ चासोका साथ हेरिएको छ। ‘परान’ गत वर्ष सर्वाधिक ग्रस कलेक्सन गर्ने नेपाली चलचित्र बनेको दाबी निर्माण पक्षको छ।
छायांकन सम्पन्न भएसँगै अब चलचित्र पोस्ट प्रोडक्सनमा प्रवेश गर्ने निर्देशक आचार्यले बताएका छन्। उनले छायांकनमा कलाकार तथा प्राविधिक टोलीले गरेको मेहनतलाई पोस्ट प्रोडक्सनमा पनि निरन्तरता दिँदै दर्शकलाई मनपर्ने चलचित्र बनाउने बताए।
कुमार कट्टेल ‘जिग्री ब्रो’को कथामा दीपक आचार्यले चलचित्र निर्देशन तथा निर्माण गरेका हुन्। चलचित्रमा हरिवंश आचार्य, करिश्मा मानन्धर, आशीर्वाद क्षेत्री र प्रशंसा रायमाझी मुख्य भूमिकामा छन्। यस्तै कमलमणि नेपाल, रविन्द्र झा, सुमन कार्की, काजल कर्ण, सुवर्ण थापा, सरोज अर्याल, हरिश निरौला ‘कक्रोज’, गीता अधिकारी, रुक्मिला अधिकारी, सुस्मिता कुँवर, अशोक धिताललगायत कलाकारको अभिनय रहेको छ।
सामाजिक कथावस्तुमा आधारित चलचित्रले दुई पुस्ताबीचको वैचारिक भिन्नता र पारिवारिक सम्बन्धलाई मुख्य विषय बनाएको निर्माण पक्षले जनाएको छ।
कुमार कट्टेलको कथामा सविन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको चलचित्रमा शिवराम श्रेष्ठको छायांकन, मित्र डी. गुरुङको सम्पादन तथा बाबु गिरीको संगीत रहेको छ।
‘चिरञ्जीवी भवः’ आगामी २०८३ माघ १ गते देखि देशभरका हलमा प्रदर्शनमा आउनेछ। चलचित्रलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले देशव्यापी वितरण गर्नेछ।



















प्रतिक्रिया