काठमाडौं – सामाजिक विषयवस्तुलाई केन्द्रमा राखेर निर्माण गरिएको नेपाली फिल्म ‘गौँथली’को टिमलाई गाउँपालिका राष्ट्रिय महासंघ नेपालले सम्मान गरेको छ।
स्थानीय तहले बालबालिकाको क्षेत्रमा सञ्चालन गरिरहेका अभियान, बालविवाहमुक्त पालिका तथा फरक क्षमता भएका व्यक्तिका विषयमा फिल्मले जनचेतना फैलाउन योगदान पुर्याएको भन्दै महासंघले निर्देशक डा. कपिल रिजाल, अभिनेता अरुण क्षेत्री र अभिनेत्री सिम्रन खड्कालाई चितवनमा सम्मान गरेको हो।
महासंघकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले ‘गौँथली’ले स्थानीय तहले गाउँगाउँमा गरिरहेका काम र सामाजिक विषयलाई पर्दामार्फत प्रभावकारी रूपमा प्रस्तुत गरेको बताइन्।
निर्देशक डा. कपिल रिजालले फिल्मले उठाएको विषयलाई स्थानीय तहसम्म पुर्याउन महासंघबाट प्राप्त सम्मान र समर्थनले थप उत्साह मिलेको बताए।
फिल्मका अभिनेता अरुण क्षेत्रीले आफूले निर्वाह गरेको ‘ठूले’ पात्रमार्फत फरक क्षमता भएका व्यक्तिप्रति सकारात्मक दृष्टिकोण विकास गर्ने सन्देश दिन खोजिएको बताए। अभिनेत्री सिम्रन खड्काले ‘गौँथली’ले छोरीहरूले आफ्नो इच्छा र सपना पूरा गर्न संघर्ष गर्दै अघि बढ्नुपर्ने प्रेरणादायी सन्देश दिएको बताइन्।
बक्सअफिसमा ‘गौँथली’को आक्रामक व्यापार
सामाजिक विषयवस्तुमा बनेको ‘गौँथली’ले बक्सअफिसमा समेत राम्रो प्रदर्शन गरिरहेको छ। चलचित्र विकास बोर्डअन्तर्गतको सिनेमाघर बक्सअफिसको तथ्यांकअनुसार फिल्मले तीन सातामा १९ करोड ४५ लाख रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गरेको छ।
फिल्मले ७ लाखभन्दा बढी टिकट बिक्री गरिसकेको बताइएको छ। योसँगै ‘गौँथली’ सर्वाधिक कमाउने नेपाली फिल्मको सूचीमा चौथो स्थानमा पुगेको छ।
दर्शकको साथ निरन्तर रहेमा फिल्मले छिट्टै २५ करोड रुपैयाँ ग्रस कलेक्सनको आँकडा पार गर्ने अपेक्षा गरिएको निर्माण पक्षले जनाएको छ।
डा. कपिल रिजाल निर्देशित फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरेलगायत कलाकारको अभिनय छ। सामाजिक सन्देश र व्यावसायिक सफलताको संयोजनका कारण ‘गौँथली’ पछिल्लो समय चर्चामा रहेको नेपाली फिल्म बनेको छ।



















प्रतिक्रिया