जोगिन्दरको गाईजात्रे कोसेली ‘बालेन सरकार’ सार्वजनिक, हेर्न बालेनलाई आग्रह


काठमाडौं – लोकप्रिय हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ले यस वर्षको गाईजात्रालाई लक्षित गर्दै नयाँ हास्यव्यङ्ग्य कोसेली ‘बालेन सरकार’ सार्वजनिक गरेका छन्।

समसामयिक राजनीति, नेता तथा नेपाली समाजको प्रवृत्तिमाथि व्यङ्ग्य गरिएको ‘बालेन सरकार’मा सरकारलाई सुझाव दिँदै खबरदारीसमेत गरिएको छ। गत फागुन २१ गते सम्पन्न निर्वाचनलाई समेत व्यङ्ग्यको विषय बनाइएको छ।

‘बालेन सरकार’ ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। रिजालले विगत २३ वर्षदेखि निरन्तर गाईजात्रे हास्यव्यङ्ग्य प्रस्तुति ल्याउँदै आएका छन्।

रिजालकै लेखन, निर्देशन तथा प्रस्तुतिमा तयार भएको कोसेलीमा चर्चित गीत ‘आमाले सोध्लिन् नि’को प्यारोडीसमेत समावेश छ। प्यारोडीमा लोकप्रिय गायक राजु परियारको स्वर रहेको छ। लोकराज अधिकारीको शब्द र अष्ट लामाको संगीत संयोजन रहेको उक्त प्यारोडीमा एमाले, कांग्रेस, माओवादीसहित विभिन्न राजनीतिक दलमाथि व्यङ्ग्य गरिएको छ।

रिजालले गाईजात्रा हास्य कलाकारका लागि विशेष उत्सव भएकाले व्यावसायिक लाभभन्दा दर्शकको मायाका कारण हरेक वर्ष प्रस्तुति ल्याउँदै आएको बताए।

‘बालेन सरकार’ रिजालको २३औँ गाईजात्रे कोसेली हो। उनले गत वर्ष ‘मिस चौरासी’ सार्वजनिक गरेका थिए। वि.सं. २०६१ सालदेखि हरेक वर्ष निरन्तर गाईजात्रे हास्यव्यङ्ग्य प्रस्तुति ल्याउँदै आएका रिजालले गाईजात्रामा हास्यव्यङ्ग्य प्रस्तुत गर्नु कलाकारको धर्मजस्तै भएको बताएका छन्।