अशोक दर्जीको स्वरमा ‘पार्वती’को मर्मस्पर्शी गीत ‘मेरी दिदी’ सार्वजनिक…(हेर्नुस् भिडियो)


काठमाडौं – अभिनेत्री नीता ढुंगानाको डेब्यू निर्देशकीय फिल्म ‘पार्वती’को नयाँ गीत ‘मेरी दिदी’ सार्वजनिक गरिएको छ। सोमबार काठमाडौंको कीर्तिपुर सिनेप्लेक्समा आयोजित कार्यक्रमबीच निर्माण पक्षले बाल गायक अशोक दर्जीको स्वरमा रहेको गीत सार्वजनिक गरेको हो।

कार्यक्रममा अशोकले ब्यान्डसहित सांगीतिक प्रस्तुतिसमेत दिएका थिए। धनबहादुर गिरी (बाबुल)को शब्द तथा संगीत रहेको गीतमा दिदी–भाइको भावनात्मक सम्बन्ध र रक्षाबन्धनको प्रसंगलाई मुख्य विषय बनाइएको छ। टाढा रहेकी दिदीलाई सम्झिँदै भाइले व्यक्त गरेको पीडा र भाव गीतमा प्रस्तुत गरिएको छ।

गीतको भिडियोमा नीता ढुंगाना र अशोक दर्जीलाई देख्न सकिन्छ। फिल्ममा नीता अटिजम भएकी पार्वतीको भूमिकामा अभिनय गरेकी छन्।

जनै पूर्णिमाको अवसर पारेर भदौ १२ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्ममा नीता र अशोकसँगै दीपाश्री निरौला, राज पंगेनी शर्मा, सिरु विष्ट, राधिका कँडेल, राजेन्द्र नेपाली, आशा पौडेल र सुवास गजुरेललगायत कलाकारको अभिनय छ।

फिल्मलाई ज्योतिष तथा अभिनेता हरिहर अधिकारीले निर्माण गरेका हुन् भने शंकर पाण्डे कार्यकारी निर्माता छन्।

नीता फिल्म्सको प्रस्तुतिमा बनेको फिल्मको कथा स्वयं नीता ढुंगानाले लेखेकी हुन्। पटकथा तथा संवाद शिवम् अधिकारीको रहेको छ।

फिल्ममा सुदीप बरालको छायांकन, साहिल खानको सम्पादन, एलिस कार्की र शिवम् रसाइलीको पार्श्व संगीत तथा प्रशान्त सिवाकोटी, बाबुल गिरी, सिद्धार्थ सरकार पौडेल र दीपक शर्माको संगीत रहेको छ। नृत्य निर्देशन रामजी लामिछानेले गरेका छन्।