न्यान्सी खड्काको ‘अक्षरा’ टिजर सार्वजनिक, वैवाहिक हिंसाको कथा


काठमाडौं – पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्काको शीर्ष भूमिका रहेको फिल्म ‘अक्षरा’को टिजर सार्वजनिक गरिएको छ। युट्युबमार्फत सार्वजनिक टिजरले फिल्मको कथावस्तुबारे संक्षिप्त झलक दिएको छ।

विनयराज पौडेल निर्देशित फिल्मको टिजरमा धनाढ्य परिवारमा विवाह गरेपछि एक युवतीले भोग्नुपरेको पारिवारिक पीडा, घरेलु हिंसा र सामाजिक दबाबलाई केन्द्रमा राखिएको देखिन्छ।

छोरीको विवाह गर्दा केटाको पारिवारिक पृष्ठभूमि नबुझी केवल अनुहार र धनसम्पत्तिलाई आधार बनाउँदा निम्तिन सक्ने कारुणिक अवस्थालाई फिल्मले प्रस्तुत गर्न खोजेको टिजरबाट बुझ्न सकिन्छ।

टिजरमा सुशील पोखरेल न्यान्सीका बुबाको भूमिकामा छन् भने न्यान्सी छोरीको भूमिकामा देखिएकी छन्। सुशील सिटौला न्यान्सीका श्रीमान्को भूमिकामा प्रस्तुत भएका छन्। श्रीमतीमाथि हिंसा गर्ने, रक्सीको लतमा फसेको तथा आफ्नो पारिवारिक हैसियतको धाक देखाउने चरित्रमा सिटौलालाई देखाइएको छ।

क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको फिल्ममा सोनी थापा, उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना निर्माता रहेका छन्। ‘अक्षरा’ आगामी भदौ २६ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ।