‘एक्का तीन’मा पूजा र कविताको टकराव, भदौ तेस्रो साताबाट छायांकन


काठमाडौं – फिल्म ‘एक्का तीन’को लुक्स सार्वजनिक गरिएको छ। भदौको तेस्रो साताबाट छायांकनमा जाने तयारीमा रहेको फिल्मको सार्वजनिक लुक्समा दुई मुख्य अभिनेत्री पूजा शर्मा र कविता नेपालीलाई एङ्ग्री अवतारमा प्रस्तुत गरिएको छ।

सार्वजनिक पोस्टरमा पूजा र कविताबीचको टकरावलाई प्राथमिकताका साथ देखाइएको छ। एक्सन जनरामा निर्माण हुन लागेको फिल्ममा दुई अभिनेत्रीबीचको संघर्षलाई कथाको मुख्य आकर्षणका रूपमा प्रस्तुत गरिने संकेत पोस्टरले दिएको छ।

जुना फिल्मस्को प्रस्तुतिमा बन्न लागेको फिल्ममा नायक को रहने भन्ने विषय भने निर्माण पक्षले खुलाएको छैन।

रुपेश तामाङको निर्देशनमा बन्न लागेको फिल्मको कथा तथा पटकथा सुमन गजमेरले लेखेका छन्। फिल्ममा रामकृष्ण खरेल र अनुप गडालको लगानी रहनेछ।

पूजा शर्मा र कविता नेपालीलाई पहिलोपटक फरक तथा आक्रामक अवतारमा प्रस्तुत गर्न लागिएको ‘एक्का तीन’मा उनीहरूको टकराव दर्शकका लागि विशेष चासोको विषय बन्ने देखिएको छ।