‘पार्वती’को ट्रेलर सार्वजनिक, दिदीभाइको मर्मस्पर्शी कथा


काठमाडौं – रक्षा बन्धनको अवसर पारेर भदौ १२ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘पार्वती’को ट्रेलर सार्वजनिक गरिएको छ। फिल्म प्रदर्शनको एक साताअघि निर्माण पक्षले बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममार्फत चार मिनेट लामो ट्रेलर सार्वजनिक गरेको हो।

ट्रेलरमा दिदीभाइबीचको आत्मीय सम्बन्धलाई केन्द्रमा राख्दै परिवार, समाज र भावनात्मक उतारचढावलाई प्रस्तुत गरिएको छ। ट्रेलरको मुख्य भूमिकामा नीता ढुंगाना र अशोक दर्जी देखिएका छन्।

नीताले अटिजम भएकी पार्वतीको भूमिका निर्वाह गरेकी छन् भने अशोकले उनका भाइको भूमिका निभाएका छन्। ट्रेलरमा दिदीभाइको सम्बन्धसँगै सन्तानप्रति आमाबुबाको प्रेम, सामाजिक अन्धविश्वास तथा फरक क्षमता भएका व्यक्तिप्रति समाजले गर्ने व्यवहारलाई समेत उठाइएको छ।

नीता ढुंगानाको निर्देशनमा बनेको फिल्ममा नीता र अशोकसँगै दीपाश्री निरौला, राज पंगेनी शर्मा, सिरु विष्ट, राधिका कँडेल, राजेन्द्र नेपाली, आशा पौडेल र सुवास गजुरेललगायत कलाकारको अभिनय रहेको छ।

फिल्मलाई ज्योतिष तथा अभिनेता हरिहर अधिकारीले निर्माण गरेका हुन्। शंकर पाण्डे कार्यकारी निर्माता रहेका छन्।

‘नीता फिल्म्स’को प्रस्तुतिमा तयार भएको फिल्मको कथा नीता ढुंगानाकै हो भने पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका छन्। फिल्ममा सुदीप बरालको छायांकन, साहिल खानको सम्पादन, एलिस कार्की र शिवम् रसाइलीको पार्श्व ध्वनी तथा रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ।

फिल्ममा प्रशान्त सिवाकोटी, बाबुल गिरी, सिद्धार्थ सरकार पौडेल र दीपक शर्माको संगीत रहेको छ।

रक्षा बन्धनको अवसर पारेर भदौ १२ गतेदेखि प्रदर्शनमा आउने ‘पार्वती’ले दिदीभाइको सम्बन्धसँगै सामाजिक विषयलाई भावनात्मक रूपमा प्रस्तुत गर्ने निर्माण पक्षको विश्वास छ।