काठमाडौं – हरितालिका तीजको अवसर पारेर भदौ २६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘बेहुली’को दोस्रो गीत ‘म भइनँ भने’ सार्वजनिक गरिएको छ ।
सुरेश लामा र दुर्गा खरेलको स्वर रहेको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत छ । प्रेमिल भावको गीतले युवायुवतीबीचको प्रेम, समर्पण र आत्मीयतालाई प्रस्तुत गरेको छ ।
भारतका चर्चित पर्यटकीय क्षेत्र दार्जिलिङ, मिरिक र सिक्किमका चिया बगानदेखि फुटबल मैदानसम्म छायांकन गरिएको गीतको भिडियोमा फिल्मका मुख्य कलाकार पारस बम ठकुरी र दिव्या रायमाझी रोमान्टिक अवतारमा देखिएका छन् । भिडियोमा उत्सव दाहालको छायांकन तथा सियोन श्रेष्ठको नृत्य निर्देशन छ ।
यसअघि सार्वजनिक ‘दिलमा ठाउँ छ’ गीतले पनि दर्शकमाझ राम्रो लोकप्रियता हासिल गरिसकेको छ । उक्त गीतलाई युट्युबमा झन्डै ९० लाखपटक हेरिएको छ भने टिकटकमा १० लाखभन्दा बढी भिडियो बनेका छन् । गीतको लोकप्रियतासँगै फिल्मको हाइप बढ्नुका साथै विदेशमा समेत प्रदर्शनको माग बढेको निर्माण पक्षले जनाएको छ ।
सशान कँडेलको निर्देशन तथा माधव शर्माको लेखन रहेको फिल्ममा पारस र दिव्यासहित सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामालगायत कलाकारको अभिनय छ ।
प्रताप शमशेर राणा निर्माता रहेको फिल्मका शङ्कर कोइराला र रमेश सिलवाल कार्यकारी निर्माता तथा दुर्गा खरेल र शिशिर श्रेष्ठ सह–निर्माता हुन् ।






















प्रतिक्रिया