काठमाडौं – २०८९ सालको सुपरहिट फिल्म ‘झिंगेदाउ’ भदौ ५ गतेदेखि युट्युबमा सार्वजनिक भएसँगै फिल्मले उत्साहजनक भ्यूज पाइरहेको छ । रिलिजको तीन दिनमै २२ लाखभन्दा बढी दर्शकले फिल्म हेरेका छन् भने दर्शकबाट सकारात्मक प्रतिक्रिया समेत मिलिरहेको छ ।
अब यसको सिक्वेल ‘झिंगेदाउ २’ असोज २ गतेदेखि प्रदर्शनमा आउँदैछ । फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण पक्षले तीजलाई लक्षित गर्दै शनिबार काठमाडौंमा नयाँ गीतको छायांकन गरेको छ ।
भदौ १० गते सार्वजनिक गर्ने तयारी गरिएको गीतको भिडियोमा फिल्मका मुख्य अभिनेत्री केकी अधिकारी र आँचल शर्मा देखिएका छन् । गीतमा उनीहरूले नृत्य प्रस्तुत गरेका छन् भने जेठानी–देउरानीबीचको झगडालाई समेत रमाइलो ढंगले प्रस्तुत गरिएको छ । गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका छन् ।
ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको फिल्ममा केकी र आँचलसँगै महेश त्रिपाठी, कुशल विष्ट, हिउँवाला गौतम, आर्यन सिग्देल, बसुन्धरा भुषाल, चैत्यदेवी, सरोज खनाल, संगम भण्डारी, अयभराज बराल, अंशु महर्जन, विजय देउजालगायत कलाकारको अभिनय छ । घरायसी झगडालाई केन्द्रमा राखिएको फिल्मले पारिवारिक सम्बन्धको कथा प्रस्तुत गर्छ ।
सुलभ प्रतीक देउजा र समीक्षा देउजाको लगानीमा बनेको फिल्ममा विष्णु घिमिरे (कल्पित)को छायांकन, मित्र डी. गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी तथा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ । फिल्मको पटकथा तथा संवाद परिच्छेद सेनले लेखेका हुन् भने कथा गोविन्द फुयाल र शिशिर चालिसेको हो ।






















प्रतिक्रिया