काठमाडौं – फिल्म क्षेत्रमा नयाँ कथासहित अर्को फिल्मको यात्रा सुरु भएको छ । मुस्कान ढकालको लेखन तथा निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘रत्यौली’को छायांकन आजदेखि औपचारिक रूपमा सुरु भएको हो ।
निर्माण टिमले आज बिहान काठमाडौंको पशुपति क्षेत्रमा पूजा गर्दै फिल्मको छायांकन शुभारम्भ गरेको हो । छायांकनको सुरुवाती दुई दिन काठमाडौंमा गरिनेछ भने त्यसपछि फिल्मको टिम दोलखाको जिरीतर्फ प्रस्थान गर्नेछ ।
जिरीमा करिब एक महिना फिल्मको छायांकन गरिने निर्माणपक्षले जनाएको छ । नेपाली समाज, सम्बन्ध र संस्कृतिलाई कथाको मुख्य केन्द्रमा राखेर निर्माण हुन लागेको ‘रत्यौली’ले मौलिक नेपाली परिवेशलाई पर्दामा प्रस्तुत गर्ने बताइएको छ ।
फिल्ममा विजय बराल र पूजा शर्मा मुख्य भूमिकामा छन् । पछिल्लो समय अभिनयका कारण चर्चामा रहेका विजय र नेपाली फिल्मकी लोकप्रिय अभिनेत्री पूजाको जोडीलाई दर्शकले ‘रत्यौली’मा नयाँ अवतारमा देख्न पाउनेछन् ।
फिल्ममा विजय र पूजासँगै लक्ष्मी बर्देवा, अर्जुन देवसन, सम्रान्त थापा, निर्भिक भण्डारी, अल्बिन श्रेष्ठ, कायरा कार्की, सुनिल तामाङ, माया थामी, सन्ध्या नेपाल, संगीता थापा मगर, सानू पाण्डेय, एभोन राज उप्रेती र कल्पना थापालगायत कलाकारको अभिनय रहनेछ ।
नाइटेङ्गल इन्टरटेनमेन्ट प्रा.लि. र पूजा शर्मा प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण हुने फिल्मका निर्माता सुरज आचार्य हुन् । नायिका पूजा शर्माको प्रस्तुतिमा तयार हुन लागेको फिल्ममा हरि हुमागाँई र उत्तम हुमागाँई डीओपीका रूपमा रहेका छन् ।
सुनिल निउरे मुख्य सहायक निर्देशक, दीपेन्द्र गौतम ‘माइकल’ प्रोडक्सन म्यानेजर रहेका छन् । फिल्ममा अर्जुन पोखरेल र सुरेश अधिकारीको संगीत रहनेछ ।
फिल्मको प्रदर्शन मिति पनि निर्माणपक्षले घोषणा गरिसकेको छ । ‘रत्यौली’ फागुन २१ गतेदेखि नेपाली हलमा प्रदर्शनमा आउनेछ ।
अब पशुपतिबाट सुरु भएको ‘रत्यौली’को यात्रा जिरीको सुन्दर परिवेश हुँदै पर्दासम्म पुग्दा दर्शकलाई कस्तो कथा र स्वाद दिने हो, त्यसका लागि भने फिल्मको प्रदर्शनसम्मै प्रतीक्षा गर्नुपर्नेछ ।





















प्रतिक्रिया