नेपाल यातायातको सिटमा ‘झिँगे दाउ २’, क्यूआरबाटै टिकट काट्न सकिने


काठमाडौं – असोज २ गतेदेखि प्रदर्शनमा आउन लागेको प्रतिक्षित फिल्म ‘झिँगे दाउ २’ले प्रचारप्रसारलाई तीव्रता दिएको छ । फिल्म रिलिज हुन करिब दुई साता बाँकी रहँदा निर्माण टिमले दर्शकमाझ पुग्ने नयाँ शैलीको प्रचार अभियान सुरु गरेको हो ।

फिल्मको प्रचारका लागि नेपाल यातायातका ८० वटा बसमा ‘झिँगे दाउ २’को सिट कभर राखिएको छ । नेपाल यातायातमा यात्रा गर्ने दर्शकले अब बसमै फिल्मबारे जानकारी पाउनेछन् । निर्माण पक्षका अनुसार, प्रचारको यो शैलीले दर्शकको ध्यान तानिरहेको छ ।

सिट कभरमा फिल्मको प्रचारसँगै दुईवटा क्यूआर कोड पनि राखिएको छ । जसमध्ये एउटा क्यूआर स्क्यान गर्दा फिल्मको टिजर हेर्न सकिनेछ भने अर्को क्यूआरमार्फत क्यूएफएक्स चेनका सबै हलमा टिकट काट्न सकिने व्यवस्था गरिएको छ ।

यसरी सार्वजनिक यातायातको सिटलाई नै प्रचार माध्यम बनाउँदै फिल्मले दर्शकमाझ पुग्ने प्रयास गरेको हो ।

यसैबीच, निर्माण पक्षले फिल्मको तीज विशेष गीत पनि सार्वजनिक गर्ने तयारी गरेको छ । गीतको छायांकन भइसकेको छ । गीतमा फिल्मका मुख्य कलाकार केकी अधिकारी र आँचल शर्मा रातो सारीमा सजिएर नाचेका छन् । जेठानी–देउरानीको भूमिकामा रहेका यी दुईबीच गीतमा रमाइलो घम्साघम्सीसमेत देखाइएको छ ।

ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको ‘झिँगे दाउ २’मा केकी र आँचलसँगै महेश त्रिपाठी, कुशल विष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी र आशा भुसाललगायत कलाकारको अभिनय छ ।

कपनगढी सिनेमा प्रालि र फिल्म क्रिउ नेपाल प्रालिको ब्यानरमा निर्माण भएको फिल्ममा सुलभ प्रतिक देउजा र समीक्षा देउजाको लगानी छ । रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा सह–निर्माता हुन् ।

फिल्ममा विष्णु घिमिरे ‘कल्पित’को डीओपी, मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत र रोशन श्रेष्ठको एक्सन रहेको छ । फिल्मका प्रोडक्सन हेड ईश्वर घिमिरे हुन् ।

परिच्छेद सेनको पटकथा तथा संवाद रहेको फिल्ममा गोविन्दु फुयाँल र शिशिर चालिसेको लेखन छ । फिल्मको टिजरले यसअघि नै दर्शकको ध्यान तानिसकेको छ ।

‘झिँगे दाउ २’ असोज २ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउँदैछ ।