‘जदौ’को रोमान्टिक गीत ‘तिमीसँग नबोली’ सार्वजनिक


काठमाडौं – आगामी असोज ९ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘जदौ’को रोमान्टिक गीत ‘तिमीसँग नबोली’ सार्वजनिक गरिएको छ ।

‘द भ्वाइस अफ नेपाल ३’का विजेता किरण गजमेर र मनिषा सुनारको स्वर रहेको गीतमा गोपाल लोहारको शब्द तथा अर्जुन पोखरेलको संगीत छ । प्रेममा रहेका युवायुवतीबीचको भावनालाई गीतमार्फत प्रस्तुत गरिएको छ ।

रामजी लामिछानेको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा फिल्मका मुख्य कलाकार नीति शाह र प्रभात पाल ठकुरीको रोमान्टिक केमेस्ट्री देख्न सकिन्छ । आकर्षक लोकेशन र छायांकनले गीतको भिडियो झनै मनमोहक बनाएको छ ।

निर्माण पक्षका अनुसार फिल्ममा ‘तिमीसँग नबोली’लाई कथावाचनकै एक हिस्साका रूपमा प्रयोग गरिएको छ । यसअघि फिल्मको ‘जदौ हजुर’ बोलको गीत सार्वजनिक भइसकेको छ ।

अन्जन शर्मा र काजी लिम्बूको संयुक्त निर्देशनमा बनेको फिल्ममा नीति र प्रभातसँगै मुकुन भुसाल, ऋचा शर्मा, राजश्री थापा, विनोद न्यौपाने, नरेश पौड्याल, खड्गबहादुर पुन मगर, सुन्दर धिताल, गीता अधिकारी, सन्ध्या श्रेष्ठ, सुमित्रा देवकोटा र रोहित कार्कीलगायत कलाकारको अभिनय छ ।

फिल्मको कथा, पटकथा तथा संवाद निर्देशक काजी लिम्बूले तयार पारेका हुन् । सृजना शर्मा, मनिष शर्मा र डिल्लीराज पोखरेल निर्माता रहेको फिल्ममा श्याम तामाङ र नवराज उप्रेतीको छायांकन, बनिष शाहको सम्पादन तथा रामजी लामिछानेको कोरियोग्राफी छ ।

त्यस्तै, मिलन श्रेष्ठको द्वन्द्व निर्देशन, मनोज चौलागाईंको पार्श्व संगीत तथा अर्जुन पोखरेल र बाबुल गिरीको संगीत रहेको छ ।

अन्तरजातीय प्रेमकथालाई मुख्य विषय बनाइएको ‘जदौ’ असोज ९ गतेदेखि दर्शकमाझ आउने निर्माण पक्षले जनाएको छ ।