काठमाडौं । असोज २ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘झिंगे दाउ २’को ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरमा दाजुभाइ तथा देउरानी–जेठानीबीचको झगडा, आमाको ममता, सन्तानको प्रेम र आमाको खोजीलाई भावनात्मक रूपमा प्रस्तुत गरिएको छ।
ट्रेलर सार्वजनिक भएसँगै फिल्मप्रति दर्शकको उत्सुकता थप बढेको छ। पारिवारिक सम्बन्ध, प्रेम, द्वन्द्व र भावनालाई केन्द्रमा राखिएको फिल्मले दर्शकलाई हलसम्म तान्ने अपेक्षा गरिएको छ।
कपनगढी सिनेमा प्रालि र फिल्म क्रिउ नेपाल प्रालिको ब्यानरमा निर्माण भएको फिल्मलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन्। फिल्ममा सुलभ प्रतिक देउजा र समीक्षा देउजाको लगानी छ भने रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा सह–निर्माता छन्।
फिल्ममा केकी अधिकारी र आँचल शर्मासहित महेश त्रिपाठी, कुशल विष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी, आशा भुसाललगायत कलाकारको अभिनय छ।
परिच्छेद सेनको पटकथा तथा संवाद रहेको फिल्ममा गोविन्दु फुयाँल र शिशिर चालिसेको लेखन छ। विष्णु घिमिरे ‘कल्पित’को डीओपी, मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत र रोशन श्रेष्ठको एक्सन निर्देशन रहेको छ।
यसअघि सार्वजनिक फिल्मको ‘जेठानी भर्सेस देउरानी’ बोलको तीज ब्याटल गीतले पनि दर्शकको राम्रो ध्यान खिचिसकेको छ। गीतले छोटो समयमै युट्युब तथा टिकटकमा चर्चा पाउँदै ३७ लाखभन्दा बढी भ्यूज बटुलेको निर्माण पक्षले जनाएको छ।
यसैगरी, ‘झिंगे दाउ’को पहिलो भागले युट्युबमा ८० लाखभन्दा बढी भ्यूज पाइसकेको छ। पहिलो भागको सफलताका कारण पनि ‘झिंगे दाउ २’प्रति दर्शकको अपेक्षा उच्च देखिएको छ।
‘झिंगे दाउ २’ असोज २ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउनेछ।




















प्रतिक्रिया