निखिलको ‘आचार्य’को गीत सार्वजनिक, सजिनासँग छमछमी नाचे एक्सन स्टार


काठमाडौं । एक्सन स्टारको उपमा पाएका अभिनेता निखिल उप्रेतीको होम प्रोडक्सनमा निर्माण भएको फिल्म ‘आचार्य’मा समावेश गीत ‘लै बरी लै’ सार्वजनिक गरिएको छ। निखिल उप्रेती प्रोडक्सनले मंगलबार गीतको भिडियो युट्युबमार्फत सार्वजनिक गरेको हो।

सार्वजनिक गीतको भिडियोमा फिल्मका प्रमुख अभिनेता तथा निर्देशकसमेत रहेका निखिल उप्रेती स्वयं फिचर्ड छन्। उनले मोडल सजिना श्रेष्ठसँग आकर्षक नृत्य गरेका छन्। गीतमा निखिलका यसअघिका फिल्ममा देखिँदै आएका केही सिग्नेचर डान्स स्टेपसमेत समेटिएका छन्।

गौराङ्ग शेखर शर्मा र ज्योत्सना जावदाको स्वर रहेको गीतमा युग पाठकको शब्द तथा संगीत छ। रूप महन्ताको मिक्सिङ तथा मास्टरिङ रहेको गीतको भिडियोमा किरण थापाको कोरियोग्राफी छ।

असोज ९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘आचार्य’लाई कृष्ण भट्टराईले निर्माण गरेका हुन् भने नितिलेश तिवारी कार्यकारी निर्माता छन्। फिल्मको कथा निखिल उप्रेतीकै रहेको छ।

फिल्ममा निखिल उप्रेतीसँगै दीपराज राना, प्रमोद अग्रहरी, रघुबाबु, रघु करुमन्ची, रोहित चौधरी, धुर्व कोइराला, रञ्जित कोइराला, सरिता ज्ञावली, अनुप तुलाधर, सुरेश कोहली, आकाश शुक्ला, जेसिका पोखरेल, रोशनी आचार्य, सुमेन गुरुङलगायत कलाकारको अभिनय छ। फिल्ममार्फत पूर्णिका सिंजापतीले नेपाली रजतपटमा अभिनेत्रीका रूपमा डेब्यु गर्दैछिन्।

बन्देप्रसादको सम्पादन रहेको फिल्मलाई सौरभ लामा, मन्नु विके र नवराजकृष्ण थापाले छायांकन गरेका छन्। फिल्मका एक्सन निर्देशक शुक्रराज शाह हुन् भने गम्भीर विष्ट र किरण थापाले कोरियोग्राफी गरेका छन्।