‘आबाट आमा २’को पहिलो झलक सार्वजनिक, चाडपर्वमा घर नफर्किने सन्तानको कथा


काठमाडौँ – चर्किएको यो घरले फेरि सोध्यो.., यो दशैँमा पनि तिम्रो सन्तान आएन है आमा ??’ स्लोगनसहित फिल्म ‘आबाट आमा २’ को पहिलो झलक सार्वजनिक गरिएको छ ।

हरितालिका तीजको अवसर पारेर निर्माण टिमले फिल्मको पोस्टर सार्वजनिक गरेको हो । पोस्टरमा चाडपर्वका बेला नेपाली समाजले भोगिरहेको पारिवारिक विछोड, आमाको पर्खाइ र भत्किँदै गएको सामाजिक परिवेशलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ ।

पोस्टरको पृष्ठभूमिमा देखिएका फुटेका सिसा र पुराना तस्वीरले भत्किँदै गएको परिवार तथा छिन्नभिन्न भएका सम्झनालाई संकेत गर्छन् । एउटा तस्वीरमा आमा–बुबा प्रदीप रावत र विपना थापा एकअर्कालाई अँगालो हालेर रोइरहेको दृश्य तथा त्यसमाथि उडिरहेको हवाइजहाजले रोजगारीका लागि घर छाड्न बाध्य नेपाली युवाको कथा झल्काउँछ ।

पोस्टरका अन्य टुक्रामा फिल्मका मुख्य कलाकार पल शाह र साइग्रेस पोखरेलका तस्वीरले विगतका मीठा सम्झनालाई प्रस्तुत गरेका छन् ।

फिल्ममा पल शाह, मलिका महत, रिश्ता गुरुङ, निकिता आचार्य, विपना थापा, आकाश श्रेष्ठ, सविन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का र दिलिप अखेडालगायत कलाकारको अभिनय छ ।

अघिल्लो वर्षको सुपरहिट फिल्म ‘आबाट आमा’ को दोस्रो श्रृंखलाका रूपमा निर्माण भएको फिल्मलाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । फिल्म असोज ३० गते, फूलपातीको अघिल्लो दिनदेखि प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ ।