बालेनलाई स्वागत गर्न मोदी आफैँ विमानस्थल पुग्लान् त ? यस्तो छ विगतको इतिहास


काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) दुई दिने औपचारिक भारत भ्रमणका लागि आइतबार नयाँ दिल्ली प्रस्थान गर्दैछन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा हुन लागेको यो प्रधानमन्त्री शाहको पहिलो औपचारिक विदेश भ्रमण हो। यस भ्रमणसँगै एउटा चासो पनि बढेको छ– के भारतीय प्रधानमन्त्री मोदी आफैँ विमानस्थल पुगेर प्रधानमन्त्री बालेनलाई स्वागत गर्नेछन् ?

भारत भ्रमणमा जाने नेपाली प्रधानमन्त्रीलाई स्वागत गर्न भारतीय प्रधानमन्त्रीदेखि विदेशमन्त्री, गृहमन्त्री र राज्यमन्त्रीसम्म विमानस्थल पुग्ने गरेका छन्। तर, भारतीय प्रधानमन्त्री स्वयं विमानस्थल पुगेर नेपाली प्रधानमन्त्रीको स्वागत गरेको उल्लेखनीय घटना भने २०६३ जेठमा भएको थियो।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला भारत भ्रमणमा जाँदा भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंह आफैँ नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पुगेर स्वागत गरेका थिए।

२०६३ जेठ २३ देखि २६ गतेसम्म भएको कोइरालाको भारत भ्रमणलाई तत्कालीन राजनीतिक परिस्थितिका कारण विशेष महत्त्वका साथ हेरिएको थियो। २०६२/६३ को जनआन्दोलनपछि नेपालमा नयाँ राजनीतिक परिस्थिति निर्माण भएको थियो। प्रतिनिधिसभा पुनःस्थापना र लोकतान्त्रिक प्रक्रिया अघि बढाउने क्रममा कोइराला प्रधानमन्त्री बनेका थिए। शान्ति प्रक्रिया र माओवादी द्वन्द्व अन्त्यका लागि राजनीतिक सहमति निर्माणको प्रयास भइरहेका बेला भएको उक्त भ्रमणलाई भारतले उच्च प्राथमिकता दिएको थियो।

त्यसपछि भने भारत भ्रमणमा जाने नेपाली प्रधानमन्त्रीलाई स्वागत गर्न भारतीय प्रधानमन्त्री स्वयं विमानस्थल पुगेको देखिँदैन। विभिन्न समयमा भारतका विदेशमन्त्री, गृहमन्त्री, राज्यमन्त्री तथा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूले स्वागत गर्दै आएका छन्।

२०६५ भदौ २९ देखि असोज २ गतेसम्म भारत भ्रमणमा गएका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारतीय गृह राज्यमन्त्री शकील अहमद र विदेश सचिव शिवशंकर मेननले स्वागत गरेका थिए।

त्यसैगरी, २०६६ भदौ २ देखि ६ गतेसम्म भारत भ्रमणमा गएका तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाललाई विदेश राज्यमन्त्री परनीत कौरले स्वागत गरेकी थिइन्।

२०६८ कात्तिक ३ देखि ६ गतेसम्म भारत भ्रमणमा गएका प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई स्वागत गर्न भारतीय विदेश मन्त्रालयकी प्रमुख शिष्टाचार अधिकारी रुचिरा कम्बोज र नेपालका लागि तत्कालीन भारतीय राजदूत जयन्त प्रसाद विमानस्थल पुगेका थिए।

२०७२ फागुन ७ देखि १२ गतेसम्म भारत भ्रमणमा गएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्कालीन विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गरेकी थिइन्। दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेपछि २०७३ भदौ ३० देखि असोज २ गतेसम्म भारत भ्रमणमा गएका पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि स्वराजले नै स्वागत गरेकी थिइन्।

२०७४ भदौ ७ देखि ११ गतेसम्म भारत भ्रमणमा गएका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि विदेशमन्त्री स्वराजले स्वागत गरेकी थिइन्। त्यसपछि २०७४ चैत २३ देखि २५ गतेसम्म भारत भ्रमणमा गएका प्रधानमन्त्री ओलीलाई तत्कालीन गृहमन्त्री राजनाथ सिंहले विमानस्थलमा स्वागत गरेका थिए।

२०७८ चैत १८ देखि २० गतेसम्म भारत भ्रमणमा गएका प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय पर्यटन तथा रक्षाराज्यमन्त्री अजय भट्टले स्वागत गरेका थिए। त्यस्तै, २०८० जेठ १७ देखि २० गतेसम्म भारत भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विदेश तथा संस्कृति राज्यमन्त्री मीनाक्षी लेखीले स्वागत गरेकी थिइन्।

यसपटक प्रधानमन्त्री बालेन्द्र शाहलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारत सरकारका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने कार्यक्रम रहेको छ।

विगतका भ्रमणको इतिहास हेर्दा नेपाली प्रधानमन्त्रीको स्वागतमा भारतले फरक–फरक तहका सरकारी प्रतिनिधि खटाउँदै आएको देखिन्छ। २०६३ मा मनमोहन सिंह स्वयं विमानस्थल पुगेको उदाहरणबाहेक पछिल्ला भ्रमणमा भारतीय प्रधानमन्त्रीले विमानस्थलमै पुगेर स्वागत गरेको देखिँदैन।

त्यसैले प्रधानमन्त्री बालेनको भारत भ्रमणका क्रममा पनि भारतीय प्रधानमन्त्री मोदी विमानस्थल पुगेर स्वागत गर्नेछन् वा निर्धारित कार्यक्रमअनुसार राज्यमन्त्री जितिन प्रसादले नै स्वागत गर्नेछन् भन्ने विषय चासोका रूपमा हेरिएको छ।

मोदी र बालेनबीच हुने उच्चस्तरीय भेटवार्तासँगै विमानस्थलको स्वागतले पनि यस भ्रमणको कूटनीतिक सन्देशलाई थप चर्चामा ल्याएको छ।