काठमाडौं – अभिनेता निखिल उप्रेतीको निर्माण, निर्देशन तथा अभिनय रहेको फिल्म ‘आचार्य’को करिब साढे तीन मिनेट लामो धमाकेदार ट्रेलर सार्वजनिक भएको छ। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो। फिल्म असोज ९ गतेदेखि प्रदर्शनमा आउनेछ।
ट्रेलरमा निखिललाई जबरदस्त एक्सन अवतारमा प्रस्तुत गरिएको छ। यसअघि सार्वजनिक टिजरमा देखाइएको पावरप्याक एक्सनलाई ट्रेलरले अझ विस्तारित रूपमा प्रस्तुत गरेको छ। तीव्र द्वन्द्व, आकर्षक एक्सन कोरियोग्राफी र मनोरञ्जनात्मक दृश्यले ‘आचार्य’लाई एक्सनप्रधान फिल्मका रूपमा प्रस्तुत गरेको छ।
‘पिजडा ’मार्फत एक्सन नायकका रूपमा दर्शकमाझ बलियो छाप बनाएका निखिलले ‘आचार्य’मा एक्सनलाई थप फराकिलो बनाएका छन्। पछिल्लो समय नेपाली फिल्ममा कम देखिँदै आएको मास इन्टरटेनर शैलीलाई पुनः मूलधारमा ल्याउने प्रयास फिल्ममा गरिएको निर्माण पक्षको दाबी छ।
नेपालमा विदेशी फिल्मको दबदबा रहँदै आएको अवस्थामा नेपाली बजेट, नेपाली कन्टेन्ट र नेपाली श्रमशक्तिको प्रयोगबाट पनि अन्तर्राष्ट्रिय स्तरको मनोरञ्जनात्मक फिल्म निर्माण गर्न सकिन्छ भन्ने उद्देश्यले ‘आचार्य’ बनाइएको निखिलले बताए।
‘हामी नेपालीले पनि विदेशी शैलीका फिल्म बनाउन सक्छौं। त्यस्तो फिल्म बनाएर नेपाली दर्शकलाई मनोरञ्जन दिन सक्यौं भने जंग जित्नु छ,’ निखिलले भने।
हरेक फिल्ममार्फत केही नयाँ प्रस्तुत गर्ने प्रयास गर्दै आएको बताउँदै निखिलले ‘आचार्य’मा पनि एक्सन र कन्टेन्टमा नयाँपन दिने प्रयास गरिएको बताए।
‘मैले आफ्नो फिल्ममा केही नयाँ दिने कोसिस गर्दै आएको छु। यसमा पनि एक्सन र कन्टेन्टमा नयाँ दिने प्रयास गरेको छु। दर्शकले फिल्म हेर्दा त्यो अनुभूति गर्नुहुनेछ,’ उनले भने।
फिल्ममा निखिलसँगै दक्षिण भारतीय कलाकार रघु बाबू र रघु करुमन्चीको अभिनय छ। पूर्णिका सिजापतीले ‘आचार्य’बाट नव–नायिकाका रूपमा डेब्यु गर्दैछिन् भने सजिना श्रेष्ठले पनि यही फिल्मबाट अभिनय यात्रा सुरु गरेकी छन्।
त्यस्तै फिल्ममा बलिउड कलाकार दीपजङ्ग राणा र रोहित चौधरीसँगै ध्रुव कोइराला, सुरेश कोहली, रञ्जित कोइराला, जेसिका पोखरेल, कृतिका, सरिता ज्ञवाली, अनुप तुलाधर, एलिस खनाल, अजय थापा, सुबिन गुरुङ, रोशनी र सोनिका वास्तोलालगायत कलाकारको अभिनय रहेको छ।
सौरभ लामा, मनु विक र नवराज थापाले छायांकन गरेको फिल्मको एक्सन निर्देशन शुक्रराज शाहले गरेका हुन्। बन्दे प्रसादको सम्पादन रहेको फिल्मको टिजर तथा ट्रेलर सन्देश शाहले तयार पारेका हुन्।
फिल्मलाई मनोज राठीले वितरण गर्दैछन् भने नेपालबाहिरको वितरणको जिम्मेवारी सेभेन सिज इन्टरनेसनलले लिएको छ। फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ।



















प्रतिक्रिया