काठमाडौं – चलचित्र ‘कबड्डी’को पाँचौँ शृङ्खला ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ आगामी दशैंको टीकाको पर्सिपल्ट अर्थात् कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले शुक्रबार फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो।
सार्वजनिक पोस्टरमा फिल्मका मुख्य पात्र काजी (दयाहाङ राई), बीके (विजय बराल) र छन्त्याल (बुद्धि तामाङ)लाई उनीहरूकै चर्चित चरित्रमा प्रस्तुत गरिएको छ। पोस्टरमा काजी पार्कको कुर्सीमा हातमा क्रिकेट ब्याट समातेर गम्भीर मुद्रामा बसेका छन् भने बीके र छन्त्यालले उनलाई नियालिरहेको देखिन्छ। पोस्टरले फिल्मको कथाबारे कौतुहलता बढाएको छ।
यसअघि प्रदर्शनमा आएका ‘कबड्डी’का चारै शृङ्खलाले बक्स अफिसमा उल्लेख्य सफलता हासिल गरिसकेका छन्। विशेषगरी चौथो शृङ्खला ‘कबड्डी ४ः द फाइनल म्याच’ले करिब २२ करोड रुपैयाँको ग्रस कलेक्सन गर्दै लामो समयसम्म सर्वाधिक कमाउने नेपाली फिल्मको कीर्तिमान राखेको थियो।
त्यही सफलतालाई निरन्तरता दिने चुनौतीबीच पाँचौँ शृङ्खला निर्माण गरिएको हो। चौथो भागलाई नै ‘फाइनल म्याच’ भनिए पनि दर्शकको माग र पात्रहरूको कथा अझै अधुरो रहेकाले त्यसलाई पूर्णता दिन पाँचौँ भाग निर्माण गरिएको निर्देशक रामबाबु गुरुङले बताएका छन्।
निर्माण पक्षका अनुसार ‘कबड्डी ५’ केवल व्यावसायिक उद्देश्यले नभई कथाको माग र पात्रहरूको अधुरो कथा पूरा गर्न निर्माण गरिएको हो।
बासुरी फिल्म्सको प्रस्तुतिमा बनेको फिल्मका लेखक तथा निर्देशक रामबाबु गुरुङ हुन्। फिल्ममा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङसँगै विपीन कार्की, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुष्कर गुरुङ, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, माओत्से गुरुङ, कमलमणि नेपाल, विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजार, पञ्च सुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुधाथोकी, सरोज अर्याल र शेखर चापागाईं लगायतको अभिनय रहेको छ।
निर्देशक गुरुङसँगै मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी)ले फिल्ममा लगानी गरेका छन्। सागर राज कार्यकारी निर्माता रहेको फिल्ममा कालीप्रसाद बास्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत, सञ्जय लामाको छायांकन तथा सुरेन्द्र पौडेलको सम्पादन रहेको छ।
फिल्मका मुख्य सहायक निर्देशक सोमनाथ खनाल र तारानाथ न्यौपाने हुन्। नेपालमा फिल्मको वितरण ब्याङ्कटेश इन्टरटेनमेन्ट एन्ड टी फल्कले गर्नेछ भने विदेश वितरणको जिम्मेवारी सेभेन सिज इन्टरनेसनलले लिएको छ।



















प्रतिक्रिया