काठमाडौं – नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको जम्बी हरर चलचित्र ‘टनेल २६ : द कर्स बिनिथ द माउन्टेन’ आगामी असोज २३ गते (अक्टोबर ९) देखि नेपाल र भुटानमा एकसाथ प्रदर्शनमा आउने भएको छ।
निर्माण टिमले शनिबार चलचित्रको आधिकारिक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो। चलचित्रको ट्रेलर भने सेप्टेम्बर २२ मा काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरी सार्वजनिक गरिने भएको छ। कार्यक्रममा भुटानबाट कलाकार तथा निर्माण टोलीसमेत सहभागी हुने जनाइएको छ।
सार्वजनिक पोस्टरमा अँध्यारो र रहस्यमय सुरुङलाई प्रस्तुत गरिएको छ। पोस्टरले चलचित्रको कथा ‘पहाडमुनिको श्राप’ वरिपरि केन्द्रित रहेको संकेत गर्छ। चलचित्रको लेखन, निर्देशन तथा सम्पादन डीडी किन्लेले गरेका हुन्।
फिल्ममा संगय छेल्ट्रिम, अनुपविक्रम शाही, अन्ना शर्मा, निदुप दोर्जी, डेकी लामो, फुन्टशोक धोन्डेन र रोशनी दादालगायत कलाकारको अभिनय रहेको छ।
संगय छेल्ट्रिम फिल्म्स र पिक एक्सभी स्टुडियोजको ब्यानरमा निर्माण भएको चलचित्रमा नेपाल, भुटान र भारतका कलाकार तथा प्राविधिकको सहकार्य रहेको छ। दोर्जी वाङ्चुक कार्यकारी निर्माता तथा प्रदीप खड्का क्रिएटिभ प्रोड्युसरका रूपमा रहेका छन्।
चलचित्रको छायांकन दीर्घ गुरुङ र संगय टी. तेन्जिङले गरेका हुन्। एक्सन निर्देशन राजु तामाङ, निर्माण डिजाइन कृष्ण शर्मा तथा निर्माण व्यवस्थापन पेमा लामोले सम्हालेका छन्। पृष्ठभूमि संगीत टेर्डसाक जानपानको रहेको छ भने ध्वनि डिजाइन तथा पुनः रेकर्डिङ मिक्सिङ करण थामावोङले गरेका छन्। चलचित्रको भिजुअल इफेक्ट्स निफान स्टुडियोले तयार पारेको हो।
नेपालमा चलचित्रको व्यवस्थापन लिभेन्ट्स स्टुडियो प्रा.लि.ले गरेको छ भने सन्तोष कुमार कार्कीले व्यवस्थापन सम्हालेका छन्।
यसअघि गत अगस्ट १४ मा चलचित्रको टिजर सार्वजनिक गरिएको थियो। निर्माण टिमका अनुसार टिजरले नेपाल र भुटानसँगै अन्तर्राष्ट्रिय दर्शक तथा वितरकको समेत ध्यान आकर्षित गरेको छ।
नेपाल र भुटानमा प्रदर्शनपछि चलचित्रलाई एसिया, उत्तर अमेरिका तथा अन्य अन्तर्राष्ट्रिय बजारमा समेत प्रदर्शन गर्ने तयारी गरिएको निर्माण पक्षले जनाएको छ।
निर्माण टिमले ‘टनेल २६’लाई नेपाल, भुटान र भारतका कलाकार तथा प्राविधिकको सहकार्यमा निर्माण भएको आफ्नो किसिमको पहिलो चलचित्र भएको दाबी गरेको छ।



















प्रतिक्रिया