काठमाडौँ । दसैँ, तिहार र छठलाई लक्षित गर्दै सुरक्षित यातायात व्यवस्थापनबारे यातायात व्यवस्था विभागमा सरोकारवालाबीच छलफल भए पनि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खोल्ने विषयमा तत्काल सहमति जुट्न सकेन।
सोमबार विभागमा भएको छलफलमा बाढीपहिरोबाट क्षतिग्रस्त सडक, प्रतिकूल मौसम र यात्रु सुरक्षाका चुनौतीबारे छलफल भएको थियो। सरोकारवालाले चाडपर्वमा यात्रुको चाप बढ्ने भएकाले सडकको अवस्था सुधार र सुरक्षा व्यवस्थालाई प्राथमिकता दिनुपर्ने बताएका छन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले सडकको अवस्था सुधार नभएसम्म अग्रिम टिकट बुकिङ खोल्न हतार गर्न नहुने बताए। उनका अनुसार अहिले यात्रुलाई टिकट उपलब्ध गराउनुभन्दा सुरक्षित रूपमा गन्तव्यमा पुर्याउनु मुख्य चुनौती बनेको छ।
सडकको अवस्था र सुरक्षा चुनौतीबारे थप गृहकार्य आवश्यक देखिएपछि बैठक बिनानिष्कर्ष टुङ्गिएको छ। व्यवसायी तथा सम्बन्धित निकायले तयारी पूरा गरेपछि पुनः बैठक बसेर अग्रिम टिकट बुकिङ खोल्ने मिति तय गरिने सिटौलाले जानकारी दिए।



















प्रतिक्रिया