काठमाडौं – निर्माता रोहित अधिकारीले रोहित अधिकारी फिल्म्सबाट नयाँ फिल्म निर्माण गर्ने भएका छन्। फिल्ममा अभिनेता पल शाह र अभिनेत्री जसिता गुरुङको जोडी रहने तय भएको छ।
निर्माता अधिकारीले पललाई लिएर निर्माण गर्न लागेको फिल्मका लागि जसितासँग सोमबार सम्झौता गरेका हुन्। यसअघि नै पलसँग मौखिक सहमति भइसकेको निर्माता अधिकारीले बताएका छन्। यससँगै पल र जसिता पहिलोपटक जोडीका रूपमा पर्दामा देखिने भएका छन्।
फिल्मको निर्देशनका लागि दीपेन्द्र लामासँग पनि सोमबार नै सम्झौता गरिएको निर्माण कम्पनीले जनाएको छ। फिल्मको शीर्षक भने हालसम्म सार्वजनिक गरिएको छैन।
निर्माण पक्षका अनुसार अहिले फिल्मको कास्ट एन्ड क्रिउ फाइनल गर्ने काम भइरहेको छ। अन्य कलाकार तथा प्राविधिक टोलीलाई अनुबन्ध गरेपछि छायांकनमा जाने तयारी छ।
यसैबीच, रोहित अधिकारी फिल्म्सले अभिनेता अनमोल केसीसँग ‘फर्की फर्की’पछि त्यसैको सिक्वेल निर्माण गर्ने घोषणा यसअघि नै गरिसकेको छ। उक्त फिल्मका लागि अनमोलसँग सम्झौता समेत भइसकेको निर्माण पक्षले जनाएको छ।
यसरी रोहित अधिकारी फिल्म्सले एकैपटक फरक–फरक प्रोजेक्टलाई अघि बढाइरहेको छ। पल शाह–जसिता गुरुङ अभिनित फिल्मको शीर्षक, अन्य कलाकार र छायांकनसम्बन्धी थप विवरण निर्माण पक्षले क्रमशः सार्वजनिक गर्ने जनाएको छ।



















प्रतिक्रिया