त्रिपुरेश्वर घटनामा मृत्यु भएका चालकको पहिचान खुल्यो, अर्काको लाइसेन्स प्रयोग गरेको पुष्टि


काठमाडौं । त्रिपुरेश्वरमा सोमबार भएको बस आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि भएको छ। आगजनीमा गम्भीर घाइते भएका उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेका अनुसार तामाङ मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–सिस्नेरीका बासिन्दा हुन्। प्रहरी अनुसन्धानबाट उनले विभिन्न घटनामा अन्य व्यक्तिको नाममा जारी भएका सवारीचालक अनुमतिपत्र तथा कागजात प्रयोग गरेको खुलेको छ।

त्रिपुरेश्वर घटनामा उनले दाबा लामाको नाममा रहेको लाइसेन्स प्रयोग गरेको पाइएको थियो। अनुसन्धानका क्रममा दाबा लामाको नाममा रहेको बैंक खाता र नागरिकतासमेत प्रयोग गरेको खुलेको प्रहरीले जनाएको छ।