भरत दाहालको बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश जारी


काठमाडौँ । राजनीतिक विश्लेषक भरतमणि दाहालको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।

दाहालकी छोरी डेनिकाले आफ्ना बुबालाई गैरकानुनी रूपमा पक्राउ गरी थुनामा राखिएको दाबी गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दिएकी थिइन् । उक्त रिटमाथि मंगलबार न्यायाधीश कुमार रेग्मीको इजलासमा सुनुवाइ भएको हो ।

सर्वोच्चले दाहाललाई पक्राउ गर्नुको कारणसहितको जवाफ पेस गर्न सम्बन्धित विपक्षीका नाममा आदेश दिएको छ । सरकारको जवाफ प्राप्त भएपछि मुद्दाको अर्को पेसी तोकिनेछ ।

दाहाललाई आइतबार मोरङको बेलबारीबाट प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले उनको युट्युब च्यानलमार्फत भूराजनीतिक तथा उच्च राजनीतिक व्यक्तिहरूबारे भ्रामक प्रचार गरेको आरोपमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ ।

अब सम्बन्धित निकायको जवाफ तथा उपलब्ध प्रमाणका आधारमा सर्वोच्चले बन्दीप्रत्यक्षीकरणको रिट जारी हुने वा नहुनेबारे निर्णय गर्नेछ ।