रेशम चौधरीलाई आममाफी दिने निर्णयविरुद्धको रिट खारेज


काठमाडौँ । सर्वोच्च अदालतले रेशम चौधरीलाई कैद सजायमा माफी दिने तत्कालीन सरकारको निर्णयविरुद्ध परेको रिट खारेज गरेको छ।

मङ्गलबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले चौधरीलाई कैद माफी दिने निर्णयविरुद्ध परेको रिट खारेज गरेको हो।

टीकापुर हत्याकाण्डमा दोषी ठहर भई जन्मकैदको सजाय पाएका चौधरीलाई सरकारको सिफारिसमा तत्कालीन राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका अवसरमा कैद सजाय पूरा नहुँदै माफी दिएका थिए। त्यसविरुद्ध पीडित शारदा बोहरा कडायतले सर्वोच्चमा रिट दायर गरेकी थिइन्। कडायत टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी हुन्।

कैलाली जिल्ला अदालत र दिपायल उच्च अदालतले चौधरीलाई जन्मकैदको सजाय सुनाएका थिए। सर्वोच्च अदालतले पनि २०७९ जेठ २ गते उक्त फैसला सदर गरेको थियो। त्यसपछि सरकारको सिफारिसमा राष्ट्रपतिबाट कैद माफी पाएपछि चौधरी २०७९ जेठ १५ गते डिल्लीबजार कारागारबाट रिहा भएका थिए।

अदालतको फैसलाअनुसार चौधरीले २०९४ सालसम्म कैद भुक्तान गर्नुपर्ने थियो। तर, कैद माफी पाएपछि उनी निर्धारित अवधि पूरा नहुँदै रिहा भएका थिए।

२०७२ भदौ ७ गते थरुहट प्रदेशको माग गर्दै भएको आन्दोलनका क्रममा कैलालीको टीकापुरमा हिंसात्मक घटना भएको थियो। उक्त घटनामा एक बालकसहित सात सुरक्षाकर्मी गरी आठ जनाको मृत्यु भएको थियो।