विराटनगर । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफू नेपाली जनताको मतबाट प्रधानमन्त्री बन्ने दाबी गरेका छन्।
धनकुटामा आयोजित पार्टी प्रवेश तथा हातेमालो कार्यक्रममा बोल्दै साम्पाङले जनताले चाहेमा केही समयमै आफू प्रधानमन्त्री बन्ने बताएका हुन्।
उनले प्रधानमन्त्री बन्न विदेशी शक्तिको सहयोग वा आशिर्वाद नखोज्ने दाबी गरे। भारत, चीन वा अन्य कुनै शक्तिको समर्थनमा नभई नेपाली जनताको सार्वभौम मतबाट प्रधानमन्त्री बन्ने उनको भनाइ छ।
देश विकासका लागि प्रधानमन्त्रीको जिम्मेवारी आवश्यक पर्ने बताउँदै उनले आफू प्रधानमन्त्री बनेपछि रोजगारी र उत्पादनमा जोड दिने बताए।
साम्पाङले ३ करोड नेपालीका ६ करोड हातलाई एकैसाथ काममा परिचालन गर्ने दाबी गरे। भाषण र कागजी योजनाले मात्र देश नबन्ने भन्दै उनले श्रमदान र उत्पादनमूलक काममार्फत देश विकास गर्नुपर्ने बताए।
उनले आफूलाई ‘आगो बोकेको मान्छे’ भन्दै विरोधीहरूलाई आफूलाई कमजोर नठान्न चेतावनीसमेत दिए। धरान उपमहानगरपालिकाको मेयर हुँदा एक्लै चुनावी अभियानमा निस्किएर राजनीतिक दलका उम्मेदवारलाई पराजित गरेको उदाहरण दिँदै उनले अहिले आफूलाई ठूलो जनसमर्थन रहेको दाबी गरे।
साम्पाङले आफूलाई जतिसुकै दबाउन खोजे पनि झन् माथि उठ्ने ‘कहिल्यै नफुट्ने भकुन्डो’ जस्तै भएको बताए।



















प्रतिक्रिया