काठमान्डौ – बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण देशभर निरन्तर वर्षा भएपछि नेपाली फिल्मको प्रदर्शनसँगै छायांकनसमेत प्रभावित भएको छ । यही कारण निर्देशक सुदर्शन थापाले फिल्म ‘शुभ विवाह’को छायांकन तीन दिनका लागि स्थगित गरेका छन् ।
निर्माता कम्पनी प्रियदर्शन फिल्म्सकी प्रमुख सुप्रिया कटुवाल (थापा)ले बिहीबार विज्ञप्ति जारी गर्दै असोज ९ गतेदेखि ११ गतेसम्म छायांकन स्थगित गरिएको जानकारी दिएकी हुन् । प्रतिकूल मौसमका कारण कलाकार तथा प्राविधिक टोलीको सुरक्षा र सहजतालाई प्राथमिकतामा राख्दै छायांकन रोकिएको विज्ञप्तिमा उल्लेख छ ।
करिब ४५ दिनको सेड्युलसहित सुरु भएको फिल्मको छायांकन अहिले अन्तिम चरणमा पुगेको छ । निर्देशक सुदर्शन थापाका अनुसार फिल्मका गीतबाहेक अन्य दृश्यको छायांकन पूरा भइसकेको छ ।
पोखराको लेकसाइडमा १० दिनको सेड्युल राखेर गीतको छायांकनका लागि सेटसमेत तयार गरिएको थियो । तर, लगातारको वर्षाका कारण गीतको छायांकन प्रभावित भएको निर्देशक थापाले बताए । मौसममा सुधार आएपछि रोकिएको काम पुनः सुरु गरिने निर्माण पक्षले जनाएको छ ।
प्रेम र विवाहको कथामा आधारित फिल्ममा प्रदीप खड्का, सनिशा भट्टराई, हरिहर शर्मा, वसुन्धरा भुसाल, मुकुन्द किशोर भट्टराई, कृष्ण ढुंगाना, विशाल पहारी, अंशु महर्जन, अनिता बस्नेत, मेक्सम गौडेल, सन्तोष थापा, सुनिशा बजगाईँ, आश्मा गिरीलगायतका कलाकारको अभिनय छ ।
‘शुभ विवाह’ महाशिवरात्रिको अवसर पारेर आगामी फागुन २१ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ।



















प्रतिक्रिया