भारी वर्षाबीच ‘आचार्य’ प्रदर्शन, निखिलको एक्सनले तान्यो दर्शकको ध्यान


काठमाडौं – अभिनेता तथा निर्देशक निखिल उप्रेतीको बहुप्रतीक्षित चलचित्र ‘आचार्य’ आजदेखि नेपाल तथा विदेशका विभिन्न हलमा प्रदर्शनमा आएको छ। लामो समयपछि ठूलो पर्दामा निखिललाई एक्सन अवतारमा देख्न पाएका दर्शकबाट फिल्मले सकारात्मक प्रतिक्रिया पाउन थालेको छ।

तर, प्रदर्शनको पहिलो दिन मौसम भने फिल्मका लागि चुनौती बनेको छ। काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बिहानैदेखि भारी वर्षा भएपछि बिहानका शोमा दर्शकको उपस्थिति अपेक्षाकृत औसत देखिएको छ। लगातारको वर्षाका कारण दर्शकलाई हलसम्म पुग्न केही असहज भएको बताइएको छ।

यद्यपि, वर्षाबीच पनि निखिलको क्रेज भने हलमा देखिएको छ। कीर्तिपुर सिनेप्लेक्समा निखिल उप्रेती पुग्दा उनलाई भेट्न र फोटो खिच्न दर्शकको भीड लागेको थियो। पानीमा भिज्दै समेत दर्शकले निखिलसँग तस्बिर खिचेका थिए।

करिब १० वर्षपछि निखिलको कमब्याक भएकाले पनि ‘आचार्य’प्रति दर्शकको चासो देखिएको छ। निखिलकै अभिनय तथा निर्देशन रहेको फिल्मलाई लिएर सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया आइरहेका छन्। विशेषगरी उनको एक्सन शैलीले दर्शकको ध्यान तानेको छ।

फिल्मको ट्रेलरमा देखाइएको फाइट, स्टन्ट, लोकेसन तथा ब्याकग्राउन्ड स्कोरलाई लिएर दर्शकले प्रशंसा गरेका छन्। कतिपय दर्शकले सामाजिक सञ्जालमा ‘अब एक्सनका लागि साउथ इन्डियन फिल्म नै किन हेर्नुपर्‍यो ?’ भन्दै निखिलको एक्सन शैलीप्रति उत्साह व्यक्त गरेका छन्।

कलाकार, पत्रकार तथा दर्शकहरूले समेत ट्रेलरको एक्सन र प्रस्तुतिको खुलेर प्रशंसा गरेका थिए। यही कारण प्रदर्शनअघि नै ‘आचार्य’प्रति दर्शकको चासो बढेको निर्माण पक्षको भनाइ छ।

‘आचार्य’ले देशभरका हलमा कुल १३७ शो पाएको वितरक मनोज राठीले जानकारी दिएका छन्। प्रदर्शनअघि सार्वजनिक भएको ट्रेलरले पनि दर्शकमाझ राम्रो चर्चा बटुलेको थियो। ट्रेलर नेपालमा युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा समेत पुगेको थियो।

निखिल उप्रेतीको होम प्रोडक्सनमा निर्माण भएको ‘आचार्य’ निखिल उप्रेतीकै निर्देशन तथा अभिनयमा तयार भएको फिल्म हो। फिल्म आजदेखि नेपालसँगै विदेशका विभिन्न हलमा समेत प्रदर्शन भइरहेको छ।