दोस्रो दिन ‘आचार्य’को शो बढ्यो, हलमा हुटिङ र तालीको गुञ्जायमान


काठमाडौं – निखिल उप्रेती अभिनित तथा निर्देशित चलचित्र ‘आचार्य’ले प्रदर्शनको दोस्रो दिन शनिबार राम्रो व्यापार गरेको छ। शुक्रबार भारी वर्षाका बीच पनि सुखद व्यापार गरेको चलचित्रले शनिबार भने अधिकांश शोमा दर्शकको राम्रो साथ पाएको निर्माण टिमले जनाएको छ।

दर्शकको चाप बढेसँगै ‘आचार्य’का थप शोसमेत थपिएका छन्। अन्य चलचित्रका शो घटिरहेका बेला ‘आचार्य’को शो संख्या बढ्नुले चलचित्रप्रति दर्शकको रुचि देखाएको निर्माण पक्षको दाबी छ।

चलचित्र प्रदर्शन भइरहेका हलमा दर्शकको उत्साहसमेत देखिएको छ। फिल्म हेरिरहँदा दर्शकले हुटिङ, सिठी र ताली बजाउँदै प्रतिक्रिया दिएका भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका छन्। फेसबुक र टिकटकका रिल्स तथा भिडियोमा चलचित्रको तारिफसमेत भइरहेको छ।

यद्यपि, चलचित्र प्रदर्शन भइरहेका बेला केही दर्शकले मोबाइलबाट खिचेर फिल्मका दृश्यहरू पार्ट १, पार्ट २ भन्दै टिकटक तथा फेसबुकमा अपलोड गरेको भन्दै निर्माण टिमले त्यस्ता सामग्री हटाउन आग्रह गरेको छ। निर्माण पक्षले फिल्मका दृश्यहरू अनधिकृत रूपमा सार्वजनिक नगर्न आग्रह गर्दै अटेर गरे कानुनी उपचारमा जाने चेतावनी दिएको छ।

चलचित्रमा निखिल उप्रेतीसँगै पूर्णिका सिंजापति, प्रमोद अग्रहरी, सञ्जय गुप्ता तथा भारतीय कलाकारहरू दीपराज राणा र रघु बाबुको अभिनय रहेको छ। भारतीय कलाकारहरूको उपस्थितिले चलचित्रको कथावस्तु र यसको दायराबारे दर्शकमाझ थप कौतुहलता सिर्जना गरेको छ।

निखिल उप्रेती प्रोडक्सनको प्रस्तुतिमा बनेको चलचित्रका निर्माता कृष्ण भट्टराई हुन्। चलचित्रको लेखन निखिल उप्रेती स्वयंले गरेका छन्।

मनु विश्वकर्मा, नवराज कृष्ण थापा र सौरभ लामाको छायांकन रहेको चलचित्रलाई बन्दे प्रसादले सम्पादन गरेका छन्। शुक्रराज शाहले द्वन्द्व निर्देशन गरेका छन् भने युग भुसालको संगीत रहेको छ। गम्भीर विष्ट र किरण थापाले नृत्य निर्देशन गरेका छन्।

लामो समयपछि निर्देशनमा फर्किएका निखिलको ‘आचार्य’लाई निर्देशकीय कमब्याकका रूपमा हेरिएको छ। चलचित्रमा प्रस्तुत एक्सन, रहस्यमय कथावस्तु र नेपाल–भारत जोडिने संकेतले दर्शकको उत्सुकता बढाएको देखिन्छ।

दोस्रो दिनसम्म आइपुग्दा हलमा देखिएको दर्शकको उत्साह र थपिएका शोले ‘आचार्य’को प्रदर्शन यात्रा सुरुवाती चरणमै सकारात्मक लयमा अघि बढिरहेको संकेत गरेको छ।