भोलिदेखि मौसममा सुधार, भारी वर्षाको सम्भावना घट्ने


काठमाडौँ । देशका विभिन्न भूभागमा भइरहेको भारी वर्षा आज रातिदेखि क्रमशः कम हुँदै भोलि सोमबारदेखि मौसममा उल्लेख्य सुधार आउने भएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय प्रणाली तथा बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण नेपालका विभिन्न क्षेत्रमा भारी वर्षा भएको हो।

विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा मकवानपुर, चितवन, म्याग्दी, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व, पाल्पा र नवलपरासी पश्चिमका केही स्थानमा १५० मिलिमिटरभन्दा बढी वर्षा मापन भएको छ। कास्की, लमजुङ, बागलुङ, पर्वत, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची र सर्लाहीलगायत जिल्लामा १०० मिलिमिटरभन्दा बढी वर्षा भएको छ।

मौसमी प्रणाली कमजोर बन्दै गए पनि आज दिउँसो मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना कायमै रहेको विभागले जनाएको छ। लगातारको वर्षाले जमिन गलिसकेको तथा नदी–खोलामा जलसतह बढेकाले पहिरो र बाढीको जोखिम भने अझै उच्च रहेको छ।

प्रभावित मध्य भूभागमा विभागले ‘रातो’ रङको उच्च सतर्कता (प्रतिकार्य) चेतावनी जारी गरेको छ। जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरेको छ।

आज रातिदेखि भने भारी वर्षाको सम्भावना घट्ने मौसमविद् अधिकारीले बताएका छन्। रातिको समयमा कर्णाली र सुदूरपश्चिमका केही स्थान तथा अन्य प्रदेशका थोरै स्थानमा मात्र मध्यम वर्षा हुने पूर्वानुमान छ।

भोलि सोमबारदेखि देशभर मौसम सामान्य हुँदै जाने विभागले जनाएको छ। सोमबारका लागि कुनै मौसमी जोखिम नरहेको भन्दै विभागले ‘हरियो’ सङ्केत जारी गरेको छ। तराई क्षेत्रमा घाम लाग्ने तथा पहाडी भूभागमा आंशिक बदली रहने र दैनिक जनजीवन क्रमशः सहज हुने विभागको पूर्वानुमान छ।