‘टनेल २६’ टोलीसँग गृहमन्त्री गुरुङको भेट, फिल्मको ग्रस आम्दानीको २५ प्रतिशत विपद् कोषमा


काठमाडौं – नेपाल, भुटान र भारतको संयुक्त निर्माणमा बनेको फिल्म ‘टनेल २६’ का भुटानी कलाकार तथा निर्माण टोलीले गृहमन्त्री सुदन गुरुङसँग भेट गरेका छन्।

भेटका क्रममा गृहमन्त्री गुरुङले फिल्म टोलीलाई सफलताको शुभकामना दिँदै ‘टनेल २६’ले नेपाल, भुटान र भारतबीचको सांस्कृतिक तथा भौगोलिक सम्बन्धलाई प्रस्तुत गरेको बताए।

गुरुङले फिल्मको कथावस्तुलाई पछिल्लो समय सुरुङभित्र मानिस फसेका घटनासँग जोड्दै कठिन परिस्थितिमा फसेका मानिसको संघर्ष र बाँच्नका लागि गरेको प्रयासले यस्ता कथाको महत्व बढाएको बताए।

यसैबीच, फिल्मका निर्माता तथा मुख्य कलाकार सांगे शेल्ट्रिमले ‘टनेल २६’को ग्रस आम्दानीको २५ प्रतिशत प्रधानमन्त्री विपद् कोषमा प्रदान गर्ने घोषणा गरेका छन्।

शेल्ट्रिमका अनुसार फिल्ममा उनको ५० प्रतिशत सेयर रहेको छ। सोही सेयरको आधा अर्थात् फिल्मको कुल ग्रस आम्दानीको २५ प्रतिशत रकम विपद् कोषमा सहयोग गरिनेछ। उनले सहयोग रकम नाफाबाट नभई ग्रस आम्दानीको २५ प्रतिशत हुने स्पष्ट पारे।

नेपालमा पछिल्लो समय आएको विनाशकारी बाढीप्रति दुःख व्यक्त गर्दै शेल्ट्रिमले नेपालमा परेको विपत्तिले भुटानलाई पनि दुःखी बनाएको बताए। यसअघि भुटानका राजाले समेत नेपाललाई सहयोग गरेको स्मरण गर्दै उनले व्यक्तिगत तथा फिल्मको तर्फबाट सहयोग गर्न चाहेको बताएका छन्।

‘टनेल २६’ असोज २३ गते नेपाल र भुटानमा एकसाथ प्रदर्शनमा आउने तयारीमा छ। फिल्ममा नेपालबाट प्रदीप खड्का, अनुपविक्रम शाही र आना शर्मालगायत कलाकारको अभिनय रहेको छ। यस्तै भुटानका सङ्गे छेल्ट्रिम, निदुप दोर्जी, डेकी लामो र फुन्टशोक धोन्डेनलगायत कलाकारको पनि अभिनय रहेको छ।

फिल्मको निर्माणमा नेपालको तर्फबाट अभिनेता प्रदीप खड्का र निर्वाण चौधरीले सहकार्य गरेका छन्। प्रदीप क्रिएटिभ निर्माताका रूपमा रहेका छन्। ‘टनेल २६’लाई सङ्गे फिल्म्स र पिक एक्सभीले प्रस्तुत गरेका हुन्।