‘आ बाट आमा २’को गीत सार्वजनिकसँगै प्रचारमा नयाँ शैली, पोलदेखि गाडीको सिटसम्म पल-मलिका


काठमाडौं – दसैँको अवसर पारेर असोज ३० गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘आ बाट आमा २’को पहिलो गीत ‘अचेल किन कान्छी’ सार्वजनिक गरिएको छ। प्रेमिल भाव बोकेको गीतमा धनबहादुर गिरी (बाबुल)को शब्द तथा संगीत रहेको छ भने रवि ओड र गंगा सोनामले स्वर दिएका छन्।

गीतमा युवायुवतीबीचको प्रेम, समर्पण र भावनात्मक सम्बन्धलाई प्रस्तुत गरिएको छ। गीत सार्वजनिक भएसँगै निर्माण टिमले चलचित्रको प्रचारप्रसारलाई समेत थप आक्रामक बनाएको छ।

चलचित्रको प्रचारका क्रममा निर्माण टिमले पल शाह, मलिका महत र आकाश श्रेष्ठको तस्वीर तथा पोस्टरलाई बिजुलीका पोलदेखि सार्वजनिक यातायातका गाडीको सिटसम्म पुर्‍याएको छ। विशेषगरी विभिन्न स्थानमा बिजुलीका पोलमा टाँगिएका प्रचार सामग्री र गाडीको सिटमा देखिने चलचित्रका प्रचार सामग्रीले दर्शकको ध्यान खिचिरहेको छ।

दसैँको ठूलो बिदालाई लक्षित गर्दै चलचित्रको टिम अहिले प्रचारप्रसारमा व्यस्त छ। गीत सार्वजनिक गरेसँगै चलचित्रको प्रचार अभियानलाई थप तीव्र बनाइएको निर्माण पक्षले जनाएको छ।

चन्द्र पन्तको निर्देशनमा बनेको चलचित्रमा पल शाह, मलिका महत र आकाश श्रेष्ठसँगै विपना थापा, स्वर्गीय प्रदीप रावत, साइग्रेस पोखरेल, सविन श्रेष्ठ, गजित विष्ट, रिश्ता गुरुङ, निकिता आचार्य, नरेन खड्का, दिलिप अखेडा, बेगम नेपालीलगायतका कलाकारको अभिनय रहेको छ।

भारतीय कलाकार स्वर्गीय प्रदीप रावतको यो अन्तिम नेपाली चलचित्र रहेको निर्माण पक्षले जनाएको छ।

आर्या इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको चलचित्रको कथा तथा पटकथा चन्द्र पन्तले तयार पारेका हुन् भने संवाद सन्तोष भट्टको रहेको छ। चलचित्रको सम्पादन साहिल खान र मिलन श्रेष्ठ, छायांकन नवराज उप्रेती, पार्श्व संगीत एलिस कार्की, रंग संयोजन राजेन्द्र मोक्तान तथा द्वन्द्व निर्देशन राम-लक्ष्मण सेन्चुरीले गरेका छन्।

चलचित्रले आमा-छोराबीचको भावनात्मक सम्बन्धलाई केन्द्रमा राख्दै वैदेशिक रोजगारीको कथालाई पर्दामा प्रस्तुत गर्नेछ।

दसैँको छेकोमा प्रदर्शन हुन लागेको ‘आ बाट आमा २’मा पल शाह र मलिका महतको जोडीसँगै आकाश श्रेष्ठको उपस्थितिलाई समेत दर्शकले चासोका साथ हेरिरहेका छन्। गीतपछि चलचित्रको प्रचार अभियानले थप गति लिएसँगै निर्माण टिम प्रदर्शनका लागि तयारीमा जुटेको छ।