३. सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्तावको स्वागत


काठमाडौँ । सरकारले हाल कार्यान्वयनमा रहेको ९८ दिनको प्रसूति बिदालाई बढाएर छ महिना पुर्‍याउने प्रस्ताव अघि बढाएको छ। आमा र नवजात शिशुको स्वास्थ्य तथा पोषणका लागि पर्याप्त समय उपलब्ध गराउने उद्देश्यले ल्याइएको प्रस्तावलाई स्वास्थ्य क्षेत्रका विज्ञहरूले आवश्यक र सकारात्मक कदमका रूपमा लिएका छन्।

‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५’ संशोधनका लागि तयार गरिएको ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार (पहिलो संशोधन) विधेयक, २०८३’ को मस्यौदामा सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा कार्यरत महिलालाई सुत्केरी हुनुअघि र पछि गरी छ महिनासम्म तलबसहितको सुत्केरी बिदा दिने व्यवस्था प्रस्ताव गरिएको छ।

त्यस्तै, पत्नी सुत्केरी हुँदा पुरुष कर्मचारीलाई पनि ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा दिने प्रस्ताव गरिएको छ। प्रस्तावित व्यवस्थाले प्रसूतिपछि आमालाई आराम गर्न, नवजात शिशुको स्याहार गर्न तथा स्तनपानलाई निरन्तरता दिन सहज हुने अपेक्षा गरिएको छ।

प्रस्तावित संशोधनको मुख्य उद्देश्य आमा तथा नवजात शिशुको स्वास्थ्य संरक्षण, स्तनपान प्रवद्र्धन तथा प्रसूतिपछि आमालाई पर्याप्त आराम र हेरचाहको अवसर उपलब्ध गराउनु रहेको छ।

प्रतिनिधिसभाले सोमबार उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरिसकेको छ। विधेयक प्रस्तुत गर्दै स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले मातृत्वमा गरिएको लगानीलाई राज्यको भविष्यमा गरिएको लगानीका रूपमा बुझ्नुपर्ने बताइन्।

उनले छ महिने सुत्केरी बिदालाई सामान्य सुविधा वा बिदाका रूपमा मात्र नहेरी मातृत्वको सम्मान, आमा तथा नवजात शिशुको स्वास्थ्य, पोषण र दीर्घकालीन मानव पुँजी निर्माणसँग जोडेर हेर्नुपर्ने धारणा राखिन्।

पूर्ण स्तनपानका लागि महत्वपूर्ण

परिवार कल्याण महाशाखाअन्तर्गत मातृ तथा नवजात शिशु शाखा प्रमुख डा. गौरी प्रधान श्रेष्ठले छ महिनाको सुत्केरी बिदा आमा र नवजात शिशुको स्वास्थ्यका लागि आवश्यक रहेको बताइन्।

उनका अनुसार नवजात शिशुका लागि आमाको दूध अत्यन्त महत्वपूर्ण हुन्छ। कम्तीमा छ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्ने भएकाले आमालाई पर्याप्त समय उपलब्ध गराउने गरी सुत्केरी बिदा बढाउनु आवश्यक रहेको उनको भनाइ छ।

विकसित मुलुकहरूमा बालबालिकाको हेरचाहका लागि तुलनात्मक रूपमा लामो बिदा दिने अभ्यास रहेको उल्लेख गर्दै उनले कतिपय देशमा दुई वर्षसम्मको बिदा दिने व्यवस्था रहेको उदाहरण दिइन्।

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले पनि छ महिनाको सुत्केरी बिदाको प्रस्ताव सकारात्मक र स्वागतयोग्य रहेको बताए। उनका अनुसार यस्तो व्यवस्थाले महिला र नवजात शिशुको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न सक्छ।

सरकारले प्रस्ताव गरेको व्यवस्था कार्यान्वयनमा आएमा प्रसूतिपछि आमालाई स्वास्थ्य सुधारका लागि पर्याप्त समय मिल्नुका साथै नवजात शिशुको प्रारम्भिक हेरचाह र स्तनपानमा समेत सहजता हुने अपेक्षा गरिएको छ। साथै, पुरुष कर्मचारीका लागि प्रस्ताव गरिएको ४२ दिने स्याहार बिदाले बच्चाको हेरचाहमा बाबुको सहभागिता बढाउने उद्देश्यसमेत राखेको छ।