२४ घण्टामै ३० लाख भ्युज ‘अचेल किन कान्छी’, आ बाट आमा २’को गीतले बनायो नयाँ रेकर्ड


काठमाडौं – दसैँको अवसर पारेर असोज ३० गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘आ बाट आमा २’को पहिलो गीत ‘अचेल किन कान्छी’ले सार्वजनिक भएको २४ घण्टामै ३० लाखभन्दा बढी भ्युज पाएपछि चलचित्रको चर्चा चुलिएको छ।

धनबहादुर गिरी (बाबुल)को शब्द तथा संगीत रहेको गीतमा रवि ओड र गंगा सोनामले स्वर दिएका छन्। प्रेमिल भावको गीतमा युवायुवतीबीचको प्रेम र समर्पणलाई प्रस्तुत गरिएको छ।

‘अचेल किन कान्छी’ले छोटो समयमै पाएको भ्युजले चलचित्रप्रति दर्शकको चासो बढेको निर्माण पक्षको दाबी छ। यसअघि सार्वजनिक भएको ‘टिचर’ गीतले पनि रिलिजको २४ घण्टामै २० लाखभन्दा बढी भ्युज पाएको थियो। ‘टिचर’ सार्वजनिक भएको नौ दिनमा ५० लाखभन्दा बढी पटक हेरिएको निर्माण पक्षले जनाएको छ।

पछिल्लो समय नेपाली चलचित्रका गीतमध्ये छोटो अवधिमै धेरै भ्युज पाउने गीतका रूपमा ‘टिचर’ र ‘अचेल किन कान्छी’ चर्चामा आएका छन्। गीतले पाएको दर्शकको प्रतिक्रियाबाट निर्माण टिम उत्साहित बनेको छ।

गम्भीर विष्टको कोरियोग्राफी तथा साहिल खानको सम्पादन रहेको गीतको भिडियोमा चलचित्रका मुख्य जोडी पल शाह र मलिका महतलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ। उनीहरूले गीतमा आकर्षक नृत्यसमेत गरेका छन्।

गीतको भिडियोमा पल र मलिकाबीच विवाहको विषयलाई लिएर नोकझोक भएको देखाइएको छ। यस्तै, भिडियोमा आकाश श्रेष्ठको प्रवेशले कथालाई त्रिकोणात्मक प्रेमतर्फ लैजाने संकेत गरेको छ।

चन्द्र पन्तको निर्देशनमा बनेको चलचित्रमा पल शाह, मलिका महत र आकाश श्रेष्ठसँगै विपना थापा, स्वर्गीय प्रदीप रावत, साइग्रेस पोखरेल, सविन श्रेष्ठ, गजित विष्ट, रिश्ता गुरुङ, निकिता आचार्य, नरेन खड्का, दिलिप अखेडा र बेगम नेपालीलगायतका कलाकारको अभिनय रहेको छ।

भारतीय कलाकार स्वर्गीय प्रदीप रावतको यो अन्तिम नेपाली चलचित्र रहेको निर्माण पक्षले जनाएको छ।

आर्या इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको चलचित्रको कथा तथा पटकथा चन्द्र पन्तले तयार पारेका हुन्। संवाद सन्तोष भट्ट, सम्पादन साहिल खान र मिलन श्रेष्ठ, छायांकन नवराज उप्रेती, पार्श्व संगीत एलिस कार्की, रंग संयोजन राजेन्द्र मोक्तान तथा द्वन्द्व निर्देशन राम–लक्ष्मण सेन्चुरीको रहेको छ।

चलचित्रले आमा–छोराबीचको सम्बन्धलाई केन्द्रमा राख्दै वैदेशिक रोजगारीको कथा प्रस्तुत गर्नेछ।

गीतले रिलिजको सुरुवाती दिनमै पाएको दर्शकको प्रतिक्रियाले ‘आ बाट आमा २’प्रति उत्सुकता बढाएको निर्माण टिमको विश्वास छ। अब गीतले बनाएको यो माहोललाई चलचित्रले हलसम्म कति पुर्‍याउन सक्छ भन्ने चासो बढेको छ।