फिल्म ‘आशा’की निर्मात्री शर्मिला थापा कांग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित


सर्लाही – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सर्लाही क्षेत्र नम्बर १ बाट फिल्म निर्मात्री तथा समाजसेवी शर्मिला थापा महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छन्।

क्षेत्रीय अधिवेशनअन्तर्गत भएको निर्वाचनमा थापाले ६९७ मत प्राप्त गर्दै युवा महिलातर्फबाट महाधिवेशन प्रतिनिधि चयन भएकी हुन्। उनकी प्रतिस्पर्धी कृष्मा भट्टराईले ४२८ मत प्राप्त गरिन्।

सहमतिको प्रयास सफल नभएपछि बयलबासस्थित गल्ला व्यापार संघको भवनमा निर्वाचन भएको थियो। नेपाली कांग्रेसको निर्धारित कार्यतालिकाअनुसार प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन हुने व्यवस्था छ।

नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि थापाले युवासँगै कला क्षेत्रका मुद्दालाई पार्टीभित्र उठाउने बताएकी छन्। आफू कला क्षेत्रसँग जोडिएको व्यक्ति भएकाले नेपाली कांग्रेसलाई कला क्षेत्रमैत्री बनाउन आफ्नो भूमिका रहने उनको भनाइ छ।

यसैबीच, थापाको निर्माणमा ‘आशा’ फिल्म निर्माण भइरहेको छ। उडान स्टुडियोको लगानीमा बन्न लागेको फिल्मको निर्देशन राजीव गुरुङले गर्दैछन्। फिल्ममा महेश त्रिपाठी, अञ्जना बराइली, सुशील सिटौला, शुशांक मैनाली, आशान्त शर्मा, केनिपा सिंह र कविता रेग्मीलगायत कलाकारको अभिनय रहनेछ।

पारिवारिक कथामा आधारित ‘आशा’लाई आगामी माघ १ गते प्रदर्शन गर्ने तयारी गरिएको छ।