काठमाडौं – कस्तुरी प्रोडक्सन प्रा.लिको प्रस्तुति तथा क्लासिक सिने यूनिभर्स प्रा.लि.को सहकार्यमा निर्माण हुन लागेको फिल्म ‘सिन्दूर’को छायांकन सुरु भएको छ । फिल्मको छायांकन पश्चिम नेपालको दाङबाट सुरु गरिएको निर्माणपक्षले जनाएको छ ।
लक्ष्मण सुनारको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्ममा सञ्जीव सार्कीको लगानी रहनेछ । सुनारले यसअघि निर्देशन गरेका ‘बुलाकी’ र ‘परालको आगो’ चर्चामा आएका फिल्म हुन् । फिल्मका कार्यकारी निर्माता दिनेश सिंह महरा रहेका छन् ।
संकल्प भुजेलको छायांकन रहने फिल्ममा प्रशान्त सिवाकोटी, श्रीकृष्ण बम मल्ल र दिनेश ढकालको संगीत रहनेछ । प्रकाश हमाल निर्माण प्रमुख, करणबहादुर साउद मुख्य सहायक निर्देशक तथा रामजी लामिछाने नृत्य निर्देशकका रूपमा जोडिएका छन् ।
फिल्ममा पुष्प खड्का र प्रशंसा रायमाझी मुख्य भूमिकामा छन् । निर्माणपक्षका अनुसार फिल्मको छायांकनका लागि एक महिनाको सेड्यूल तय गरिएको छ ।
सामाजिक कथावस्तुमा आधारित ‘सिन्दूर’ले विशेषगरी एक महिलाको जीवनमा सिन्दूरको महत्व र त्यससँग जोडिएका भावना तथा सम्बन्धको कथा प्रस्तुत गर्नेछ ।






















प्रतिक्रिया