एलपी ग्यास बिक्रीमा सुरक्षा निकायलाई पनि सहभागी गराउने सरकारको तयारी


काठमाडौँ । सरकारले सम्भावित एलपी ग्यास अभाव र आपूर्ति व्यवस्थापनलाई सहज बनाउन सुरक्षा निकायबाट समेत खाना पकाउने ग्यास (एलपीजी) बिक्री वितरण गर्ने व्यवस्था मिलाउने तयारी गरेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका आउटलेटबाट समेत एलपी ग्यास बिक्री वितरण गर्न सकिने गरी आवश्यक तयारी भइरहेको जानकारी दिएका हुन्।

विकास, आर्थिक मामिला तथा सुशासन समितिले आयोजना गरेको ‘दैनिक उपभोग्य वस्तुहरूको सहज आपूर्ति व्यवस्थापन र अनुगमन’ विषयक कार्यक्रममा बोल्दै सचिव तामाङले ग्यास आपूर्तिमा असहज अवस्था सिर्जना भए सुरक्षा निकायका आउटलेटमार्फत वितरणलाई सहज बनाउन सकिने बताए।

उनका अनुसार अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलगायतका सुरक्षा निकायले पेट्रोलियम पदार्थको बिक्री वितरण गर्दै आएका छन्। त्यस्तै, सुरक्षा निकायका पेट्रोल बिक्री गर्ने आउटलेटमा कम्तीमा एक–दुईवटा ग्यास बिक्री केन्द्रसमेत सञ्चालन गर्न सकिए आपत्कालीन अवस्थामा आपूर्ति व्यवस्थापन सहज बनाउन सकिने उनको भनाइ छ।

‘अहिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायतका सुरक्षा निकायले पेट्रोलियम पदार्थको बिक्री वितरण गर्दै आइरहेका छन्,’ सचिव तामाङले भने, ‘सुरक्षा निकायको आउटलेटबाट पनि ग्यास वितरण गर्न सकेको खण्डमा धेरै सहज हुनेछ।’

उनले राज्यलाई अप्ठ्यारो परेको अवस्थामा ग्यासको आपूर्ति प्रभावित हुन नदिन वैकल्पिक वितरण प्रणाली आवश्यक रहेको बताए। सम्भावित अभावलाई ध्यानमा राखेर सुरक्षा निकायमार्फत समेत ग्यास वितरण गर्न सकिने व्यवस्था मिलाउन लागिएको उनले जानकारी दिए।

एलपी ग्यासको नियमित आपूर्ति तथा वितरणमा समस्या आएमा त्यसको प्रत्यक्ष असर उपभोक्तामा पर्ने भएकाले सम्भावित संकटका बेला तत्काल प्रयोग गर्न सकिने वैकल्पिक संयन्त्र तयार पार्न लागिएको मन्त्रालयको भनाइ छ।

सचिव तामाङले आपूर्ति व्यवस्थापनलाई प्रभावकारी बनाउन राज्यका विद्यमान संयन्त्रको अधिकतम उपयोग गर्ने गरी तयारी भइरहेको बताए।