काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि उम्मेदवारी दर्ता सुरु भएको छ। नयाँ नेतृत्व चयनका लागि ७ हजार ११४ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन्।
कांग्रेस निर्वाचन समितिले राष्ट्रिय सभागृहमा निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवारी फाराम वितरण तथा मनोनयन दर्ताको प्रक्रिया अघि बढाएको छ। निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काका अनुसार मंगलबार दिउँसो १२ः३० बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ।
कांग्रेसले नयाँ विधानमार्फत केन्द्रीय कार्यसमितिको आकार १६७ सदस्यबाट बढाएर २९७ सदस्यीय बनाएको छ। सोमबार पारित संशोधित विधानअनुसार पदाधिकारीको संख्या पनि १४ बाट बढाएर २६ पुर्याइएको छ।
नयाँ व्यवस्थाअनुसार एक वरिष्ठ उपसभापति र एक महिला उपसभापति थपिएका छन्। अब उपसभापतिको संख्या चार पुगेको छ। त्यस्तै, महामन्त्रीको संख्या तीन पुर्याउँदै एक महिला महामन्त्री अनिवार्य गरिएको छ।
सहमहामन्त्रीको संख्या पनि बढाएर ११ पुर्याइएको छ। यसमा खुलातर्फ दुई तथा विभिन्न समावेशी समूहबाट प्रतिनिधित्व हुने व्यवस्था गरिएको छ। कांग्रेसले प्रवक्ता पदसमेत थप गरेको छ भने आवश्यकता अनुसार विषयगत सहप्रवक्ता नियुक्त गर्न सकिने व्यवस्था गरेको छ।
नयाँ केन्द्रीय कार्यसमितिमा सभापति एक, वरिष्ठ उपसभापति एक, उपसभापति चार र महामन्त्री तीन जना निर्वाचित हुनेछन्। त्यसैगरी विभिन्न समावेशी समूह, प्रदेश, महिला, युवा, दलित, आदिवासी जनजाति, खसआर्य, मधेसी, थारू, मुस्लिम, पिछडिएको क्षेत्र, अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति, श्रमिक तथा पेशागत क्षेत्रबाट पनि केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गरिएको छ।
यसबाहेक सभापतिले विभिन्न पदमा सदस्य मनोनित गर्ने व्यवस्था पनि विधानमा राखिएको छ। प्रतिनिधिसभा संसदीय दलका नेता र प्रदेश कार्यसमितिका सभापति केन्द्रीय कार्यसमितिको पदेन सदस्य हुने व्यवस्था गरिएको छ।






















प्रतिक्रिया