दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न अदालतको आदेश


काठमाडौँ । जिल्ला अदालत काठमाडौँले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई विद्युतीय कारोबारसम्बन्धी कसुरमा २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।

जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले मंगलबार प्रसाईंसँग २ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो।

प्रसाईंलाई असार १२ गते साइबर ब्युरोले पक्राउ गरेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडाको उजुरीका आधारमा प्रहरीले उनीविरुद्ध विद्युतीय कारोबारसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको थियो।

प्रसाईंमाथि युट्युबमार्फत सांसद खतिवडाको छोराको शवसँग सांसद पद साटेको भन्दै अपमानजनक टिप्पणी गरेको आरोप लागेको थियो।

सोही आरोपमा अनुसन्धान तथा अभियोजन प्रक्रिया अघि बढेपछि जिल्ला अदालतमा भएको सुनुवाइका क्रममा इजलासले प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।