काठमाडौं – फिल्म ‘आ बाट आमा २’मा समावेश गीत ‘अचेल किन कान्छी’ले युट्युबमा उत्साहजनक प्रतिक्रिया पाएको छ। गीतको भिडियो सार्वजनिक भएको सातौँ दिनमै युट्युबको ट्रेन्डिङ नम्बर १ मा पुगेको हो।
गीतले ६० लाख ५० हजारभन्दा बढी भ्युज पाइसकेको छ। भिडियोमा एक लाखभन्दा बढी लाइक प्राप्त भएको छ भने हजारौँ दर्शकले कमेन्टमार्फत पल शाह र मलिका महतको जोडीलाई रुचाएको प्रतिक्रिया दिएका छन्। केही दर्शकले उनीहरूलाई ‘राजा–रानी’को जोडी भन्दै प्रशंसा गरेका छन्।
प्रेम कुमार नामका एक दर्शकले कमेन्ट गर्दै पल र मलिकाको जोडीलाई नेपाली फिल्म क्षेत्रका लागि राम्रो जोडीका रूपमा हेर्न सकिने उल्लेख गरेका छन्। उनले आगामी दिनमा समेत यही जोडीलाई लिएर थप फिल्म हेर्न चाहेको प्रतिक्रिया दिएका छन्।
दर्शकको चाहनाअनुसार नै पल शाह र मलिका महतलाई फिल्ममा जोडीका रूपमा प्रस्तुत गरिएको निर्देशक चन्द्र पन्तले बताएका छन्। उनका अनुसार दर्शकको मागलाई ध्यानमा राखेर कथा तयार पार्दै सोहीअनुसार कलाकार छनोट गरिएको हो।
सार्वजनिक भएको एक सातामै गीतले उल्लेख्य चर्चा पाएपछि यसको भ्युज अझ बढ्ने अपेक्षा गरिएको छ। गीतमा पल शाह, मलिका महतसँगै आकाश श्रेष्ठलाई पनि देख्न सकिन्छ। सामूहिक विवाहको परिवेशमा प्रस्तुत गरिएको गीतमा पल र मलिकाको नृत्य तथा आकाशको खलनायकी भूमिकाले दर्शकको ध्यान तानेको छ।
गीतको कोरियोग्राफी गम्भीर विष्टले गरेका हुन्। बाबुल गिरीको शब्द तथा संगीत रहेको गीतमा रवि ओड र गंगा सोनामको स्वर छ।
‘आ बाट आमा २’को कथा, पटकथा तथा निर्देशन चन्द्र पन्तले गरेका हुन्। फिल्ममा पल शाह, मलिका महत, विपना थापा, रिश्ता गुरुङ, निकिता आचार्य, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का र दिलिप अखेडालगायत कलाकारको अभिनय छ।
फिल्ममा रोशन भट्ट र चन्द्र पन्तको लेखन सहकार्य रहेको छ भने संवाद रोशन भट्टको छ। नवराज उप्रेतीको छायांकन, बाबुल गिरीको संगीत, गम्भीर विष्टको नृत्य निर्देशन तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्मलाई ओएसआर डिजिटलले डिजिटल पार्टनरका रूपमा साथ दिएको छ। नेपाल वितरणको जिम्मा आरआर फिल्म्सले लिएको छ। ‘आ बाट आमा २’ असोज ३० गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउँदैछ।




















प्रतिक्रिया