३२ जिल्लामा प्रशोधित दूध पुर्‍याउँदै डीडीसी


काठमाडौँ । नेपाली सेनाका देशभरका विभिन्न निकाय, युनिट तथा सब–युनिटमा प्रशोधित दूध तथा दुग्धजन्य पदार्थको नियमित आपूर्तिका लागि सम्झौता भएको छ।

बुधबार भएको सम्झौताअनुसार नेपाली सेनाका ३२ जिल्लास्थित विभिन्न निकाय तथा युनिटमा दैनिक १० हजार २५१ लिटर प्रशोधित दूध आपूर्ति गरिनेछ।

त्यसैगरी, दैनिक ३६५ किलोग्राम दही, ३७ किलोग्राम पनिर, २१ किलोग्राम होल मिल्क पाउडर र १५ किलोग्राम चिजसमेत नियमित रूपमा आपूर्ति गरिनेछ।

सम्झौताअनुसार वार्षिक रूपमा करिब ३७ लाख ४१ हजार ५०६ लिटर प्रशोधित दूध आपूर्ति हुनेछ। यसबाहेक १ लाख ३३ हजार ५२२ किलोग्राम दही, १३ हजार २४० किलोग्राम पनिर, ७ हजार ४४१ किलोग्राम होल मिल्क पाउडर र ५ हजार २७८ किलोग्राम चिज आपूर्ति गरिनेछ।

दूध तथा दुग्धजन्य पदार्थको नियमित, गुणस्तरीय र व्यवस्थित आपूर्ति सुनिश्चित गर्ने उद्देश्यले सम्झौता गरिएको हो। सम्झौताले नेपाली सेनाका विभिन्न निकाय तथा युनिटमा आवश्यक दुग्धजन्य पदार्थ सहज रूपमा उपलब्ध हुने अपेक्षा गरिएको छ।

सम्झौता हस्ताक्षर कार्यक्रममा नेपाली सेनाका सम्बन्धित अधिकारी तथा आपूर्तिकर्ता पक्षका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सम्झौताअनुसार तोकिएको मापदण्ड र परिमाणमा दुग्धजन्य पदार्थ नियमित आपूर्ति गरिनेछ।