पुनर्निर्माणमा ढिलाइ नगर्न मुख्यमन्त्रीको निर्देशन


हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले विपद् प्रभावितको उद्धार र राहतपछि अब पुनर्स्थापना तथा पुनर्निर्माणका कामलाई प्राथमिकताका साथ अघि बढाउन निर्देशन दिएका छन्।

मुख्यमन्त्री कार्यालयमा बिहीबार आयोजित आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयगत विकास समस्या समाधान समितिको बैठकमा बोल्दै मुख्यमन्त्री थापाले विपद्पछिको पुनर्निर्माणका लागि आवश्यक स्रोत व्यवस्थापन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।

प्रदेशमा भएको विपद्का कारण ठूलो धनजनको क्षति हुनुका साथै नागरिक बेपत्ता भएको उल्लेख गर्दै उनले बेपत्ता व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने प्रक्रिया सङ्घीय सरकारको निर्णयअनुसार अघि बढाउन निर्देशन दिए।

‘उद्धार, उपचार र खाद्यान्न वितरणको काम सम्पन्न भइसकेको छ। अब आन्तरिक मामिला मन्त्रालयको संयोजकत्वमा पुनर्स्थापना र पुनर्निर्माणको कामलाई प्राथमिकताका साथ अघि बढाउनुपर्छ,’ मुख्यमन्त्री थापाले भने।

उनले बजेटको सीमा भए पनि विपद् प्रभावित क्षेत्रको पुनर्स्थापनाका लागि आवश्यक स्रोत व्यवस्थापन गर्न गैरप्राथमिक कार्यक्रम तथा बजेट कटौती गरेर भए पनि रकम परिचालन गर्न सकिने बताए।

बैठकमा मुख्यमन्त्री थापाले समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने विषयलाई समेत प्राथमिकतामा राख्न निर्देशन दिए। सहकारी सञ्चालक वा अन्य कुनै पक्षको दबाब र प्रभावमा नपरी कानुनअनुसार काम गर्न उनले सम्बन्धित निकायलाई आग्रह गरे।

त्यस्तै, चाडपर्वका समयमा काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुको चाप बढ्ने भएकाले चोरी तथा डकैती नियन्त्रण र ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन पनि उनले सम्बन्धित निकायलाई निर्देशन दिए।

बैठकमा आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयका सचिव महेश भट्टराई, प्रदेश नीति तथा योजना आयोगका सदस्य डा. दीपकविक्रम थापा क्षेत्री, बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी दीपक रेग्मी, सञ्चार रजिस्ट्रार रेवती सापकोटा तथा सशस्त्र प्रहरीका डीएसपी प्रकाश पौडेललगायतको सहभागिता थियो।