कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नेतृत्व


काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। निर्वाचन समितिका अनुसार मतदान दिउँसो १ बजेदेखि सुरु हुनेछ।

यसअघि बिहान ७ बजेबाट मतदान गर्ने कार्यतालिका रहेकामा वर्षा तथा प्राविधिक कारणले समय पटकपटक सारिएको निर्वाचन समितिले जनाएको छ। मतदानमा महाधिवेशनका ७ हजार २५५ जना प्रतिनिधि सहभागी हुनेछन्।

मतदानबाट सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्रीसहित केन्द्रीय कार्यसमितिका विभिन्न पदका लागि नयाँ नेतृत्व चयन हुनेछ। उम्मेदवारी दर्ता, दाबी–विरोध तथा उम्मेदवारी फिर्ताको प्रक्रिया पूरा भइसकेपछि निर्वाचन समितिले उम्मेदवारहरूको अन्तिम नामावलीसमेत सार्वजनिक गरिसकेको छ।

प्रतिनिधिको सहजताका लागि काठमाडौँका विभिन्न स्थानमा मतदान केन्द्रको व्यवस्था गरिएको छ। प्रतिनिधिको प्रदेश तथा समूहगत प्रतिनिधित्वका आधारमा सम्बन्धित मतदान केन्द्र तोकिएको निर्वाचन समितिले जनाएको छ।

मतदानस्थलमा प्रवेश गर्नुअघि प्रतिनिधिको परिचयपत्र तथा मतदाता नामावली रुजु गरिनेछ। निर्वाचन आचारसंहिताले निषेध गरेका मोबाइल फोनलगायत सामग्री मतदानस्थलमा लैजान नपाइने व्यवस्था गरिएको छ।

मतदान सम्पन्न भएपछि मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ। १५औँ महाधिवेशनले विधान संशोधन गर्दै कांग्रेसको केन्द्रीय कार्यसमिति २९७ सदस्यीय बनाएको छ।