झलनाथमाथि सूर्य थापाको प्रहार– गल्ती स्वीकारे पनि सच्याउने क्षमता रहेन


काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता झलनाथ खनालले एमाले छाड्नु आफ्नो राजनीतिक जीवनकै ठूलो ‘ब्लन्डर’ भएको स्वीकार गरेको विषयमा टिप्पणी गरेका छन्।

खनालले हालै एक अन्तर्वार्तामा आफूले रगत–पसिना बगाएर निर्माण गरेको एमाले छाड्नु आफ्नो राजनीतिक जीवनकै सबैभन्दा ठूलो महाभूल भएको बताएका थिए। खनालको यही अभिव्यक्तिलाई उद्धृत गर्दै थापाले सामाजिक सञ्जालमार्फत उनको स्वीकारोक्ति महत्वपूर्ण भए पनि अहिले आएर त्यसको राजनीतिक अर्थ नरहेको टिप्पणी गरेका छन्।

थापाले आफूले तत्कालीन विवादका बेला खनाललाई पार्टी विभाजन नगर्न आग्रह गरेको स्मरण गरेका छन्। डल्लुस्थित खनालको निवासमै पुगेर लामो छलफल गरेको र तत्कालीन पार्टी अध्यक्षसँग निरन्तर संवाद बढाउँदै असहमति भए भेटेरै समाधान खोज्न सुझाव दिएको उनको भनाइ छ।

थापाका अनुसार उनले विवाद चर्किएका बेला कोटेश्वर र खुमलटार धाएर छलफल तथा रिपोर्टिङ गर्नुभन्दा पार्टी एकता जोगाउन भूमिका खेल्न खनाललाई आग्रह गरेका थिए। तर, आफ्ना सुझावका बाबजुद खनाल नरोकेको थापाको दाबी छ।

थापाले खनालको पछिल्लो स्वीकारोक्तिलाई इरानका अन्तिम राजा रेजा पहलवीको एउटा भनाइसँग समेत तुलना गरेका छन्। उनले नेतृत्वमा भएको गल्ती समयमै सच्याउन नसक्दा त्यसले ठूलो क्षति निम्त्याउन सक्ने बताएका छन्।

‘गल्ती भयो भन्ने लाग्दासम्म स्वीकार गर्न त सकिन्छ, तर सच्याउने सामर्थ्य गुमिसकेको हुन्छ,’ थापाले लेखेका छन्, ‘तसर्थ हरेक कदम सोचविचार गरी चाल्नुपर्छ।’

थापाले खनाल लामो समय पार्टी नेतृत्वमा रहेको र पटक–पटक मन्त्री तथा एकपटक प्रधानमन्त्रीसमेत भइसकेको उल्लेख गर्दै जीवनको उत्तरार्धमा पार्टीविहीन अवस्थामा पुग्नुलाई कठोर परिणामका रूपमा टिप्पणी गरेका छन्। उनका अनुसार खनालले महासचिव, कार्यवाहक महासचिव र अध्यक्षका रूपमा करिब १४ वर्ष पार्टी नेतृत्व गरेका थिए।