काठमाडौँ । बडादसैँ, दीपावली, नेपाल सम्वत् र छठपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले ‘चाडपर्व लक्षित सुरक्षा योजना–२०८३’ लागू गरेको छ। नागरिकको सुरक्षा, सहज आवागमन र आपराधिक गतिविधि नियन्त्रणलाई प्राथमिकतामा राख्दै देशभर करिब ५० हजारभन्दा बढी प्रहरी परिचालन गरिएको छ।
केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार चाडपर्वका बेला चोरी, डकैती, जुवातास तथा सट्टेबाजी, तस्करी, सीमा अपराध, भन्सार छली, बैंक तथा वित्तीय संस्थामा लुटपाटलगायतका गतिविधि हुन सक्ने भएकाले विशेष सुरक्षा व्यवस्था मिलाइएको हो।
त्यसैगरी विष्फोटक पदार्थको ओसारपसार, कालोबजारी, कृत्रिम अभाव, म्याद गुज्रिएका तथा मिसावटयुक्त खाद्य सामग्रीको बिक्री, हुण्डी र नक्कली नोटको कारोबारलाई समेत प्रहरीले सम्भावित सुरक्षा चुनौतीका रूपमा पहिचान गरेको छ।
चाडपर्वका लागि देशभर ४०८ स्थानमा यात्रु सहायता कक्ष र अन्तर्राष्ट्रिय सीमा नाकामा १०८ वटा सहायता कक्ष स्थापना गरिएको छ। काठमाडौँ उपत्यका, प्रदेश तथा जिल्ला प्रहरी कार्यालयमा कमाण्ड पोस्ट स्थापना गरी पैदल, मोबाइल तथा ग्रामीण गस्ती बढाइएको प्रहरीले जनाएको छ। विभिन्न स्थानमा चेकप्वाइन्ट र ट्राफिक प्रहरीसहितको चेकजाँच पनि कडाइ गरिनेछ।
प्रहरीले मुख्य बजार, सपिङ मल, मार्ट, बैंक तथा वित्तीय संस्था, सुनचाँदी तथा बहुमूल्य वस्तुको कारोबार हुने क्षेत्रलाई विशेष निगरानीमा राख्ने भएको छ। सुरक्षा निगरानीमा ड्रोन, सीसीटीभी, ‘बडीवन’ क्यामेरालगायत प्रविधिको प्रयोग गरिनेछ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र ज्येष्ठ नागरिकमाथि हुन सक्ने हिंसामा शून्य सहनशीलताको नीति अपनाइने प्रहरीले जनाएको छ।
सवारी सुरक्षामा कडाइ
चाडपर्वका बेला काठमाडौँ उपत्यकाबाट ठूलो संख्यामा यात्रु बाहिरिने भएकाले सवारी दुर्घटना न्यूनीकरणलाई प्रहरीले विशेष प्राथमिकता दिएको छ। लामो दूरीका सवारीमा दुई जना चालक राख्ने व्यवस्था तथा चालकको अनुमतिपत्र जाँचलाई कडाइ गरिनेछ।
सार्वजनिक यातायातका सवारीसाधनले यात्रु बोक्नुअघि सात दिनभित्रको ‘मेकानिकल टेस्ट रिपोर्ट’ अनिवार्य रूपमा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ। सिट क्षमताभन्दा बढी यात्रु राख्नसमेत रोक लगाइने प्रहरीले जनाएको छ।
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने, तोकिएकोभन्दा बढी भाडा असुल्ने, कालोबजारी गर्ने तथा सिट नभएको टिकट बिक्री गर्ने प्रवृत्तिमाथि पनि निगरानी बढाइनेछ।
प्रवक्ता काफ्लेले विगतको तुलनामा यस वर्ष चाडपर्वलाई थप शान्त, सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको बताए। जिल्ला तथा प्रदेश प्रहरी प्रमुखको कार्यसम्पादनलाई समेत सुरक्षा व्यवस्थासँग जोडेर मूल्याङ्कन गरिने उनले जानकारी दिए।
विपद्सँग जुध्न विशेष टोली तयारी अवस्थामा
चाडपर्वका क्रममा हुन सक्ने बाढी, पहिरो, दुर्घटना तथा अन्य विपद्का घटनामा तत्काल उद्धार तथा राहतका लागि विशेष टोली तयारी अवस्थामा राखिएको छ। विपद् व्यवस्थापन गुल्मका प्रहरी कर्मचारीलाई २४ घण्टा नै खोज, उद्धार, राहत तथा सुरक्षा कार्यका लागि परिचालन गर्न सकिने गरी तैनाथ गरिएको प्रहरीले जनाएको छ।




















प्रतिक्रिया