महाधिवेशनकै बीच कांग्रेस सचेतक निस्कल राईको एपेन्डिसाइटिसको शल्यक्रिया


काठमाडौँ । नेपाली कांग्रेसका सचेतक निस्कल राईको एपेन्डिसाइटिसको सफल शल्यक्रिया भएको छ। अचानक स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार राति उनको शल्यक्रिया गरिएको हो।

हाल राईको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र उनी अस्पतालमै उपचाररत रहेको बताइएको छ। शल्यक्रिया सफल बनाउने चिकित्सक तथा अस्पताल परिवारप्रति उनले आभार व्यक्त गरेका छन्।

स्वास्थ्य समस्याका कारण अस्पतालमा उपचाररत रहँदा पनि पार्टीको महाधिवेशनमा सहभागी प्रतिनिधि तथा नेता–कार्यकर्ताले आफ्नो उम्मेदवारीप्रति देखाएको माया, सद्भाव र समर्थनले आफूलाई हौसला मिलेको राईले बताएका छन्।

स्वास्थ्य अवस्थाका कारण सबैको फोन उठाउन नसकेको भन्दै उनले क्षमासमेत मागेका छन्। साथै, आफ्नो शीघ्र स्वास्थ्यलाभको कामना गर्ने सम्पूर्ण शुभचिन्तकप्रति धन्यवाद व्यक्त गरेका छन्।

कांग्रेसको महाधिवेशन चलिरहेका बेला राईको शल्यक्रिया भएको हो। उपचारपछि उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको बताइएको छ।