सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथमा श्रद्धालुको भीड


काठमाडौँ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज औँसी तिथिमा दिवंगत पितृका नाममा तर्पण, सिदादान तथा पिण्डदान गरी समापन गरिँदै छ।

सोह्र श्राद्धको अन्तिम दिन शनिबार बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसरस्थित बागमती नदी किनारलगायत विभिन्न तीर्थस्थलमा पितृको सम्झनामा श्राद्ध तथा तर्पण गर्न श्रद्धालुको भीड लागेको छ।

आश्विन कृष्ण प्रतिपदादेखि औँसीसम्मका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको एक दिन गरी १६ तिथिमा श्राद्ध गर्ने परम्परा रहेकाले यसलाई सोह्र श्राद्ध भनिएको हो। यस अवधिमा दिवंगत पितृको सम्झनामा तर्पण, सिदादान र पिण्डदान गरिन्छ।

पितृ पक्षको अन्तिम दिन औँसी तिथिमा श्राद्ध गर्ने धार्मिक परम्परा छ। कुनै कारणवश यस पक्षका अन्य तिथिमा गर्नुपर्ने श्राद्ध रोकिएको भए आज गर्न सकिने शास्त्रीय मान्यता रहेको छ।

विशेष परिस्थिति वा अन्य कारणले आज पनि श्राद्ध गर्न नसकिएमा आश्विन शुक्ल प्रतिपदादेखि पञ्चमीसम्म गर्न सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतमले बताए।

उनका अनुसार शास्त्रीय मान्यताअनुसार विशेष कारणले रोकिएको श्राद्ध पञ्चमीसम्म गर्न सकिन्छ। यसैबीच, मातामह अर्थात् आमाको बुवाको श्राद्ध भने आश्विन शुक्ल प्रतिपदाका दिन आइतबार गरिनेछ।