काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नदी किनारका जोखिमयुक्त बस्ती तथा भौतिक संरचना सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने बताएका छन् ।
सोमबार काठमाडौँ महानगरपालिकाले आयोजना गरेको ‘काठमाडौँ क्लाइमेट एक्सन विक’लाई सम्बोधन गर्दै उनले बस्ती स्थानान्तरण तीनै तहका सरकारको साझा जिम्मेवारी भएको बताए । यसो गर्न सके बाढीका कारण हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सकिने उनको भनाइ थियो ।
मुख्यमन्त्री मगरले त्रिशूली नदीमा सञ्चालित सात जलविद्युत् आयोजनाका सुरुङबाट निस्किएको माटो र ढुंगा नदीमै थुपारिँदा बाढीले ठूलो क्षति पुर्याएको दाबी गरे । उनले वातावरणीय प्रभाव मूल्याङ्कन गर्दा नदीमा माटो थुप्रिने गरी अनुमति दिन नहुने र खोलानालाको प्राकृतिक क्षेत्र साँघुर्याउन नहुनेमा जोड दिए ।
उनले नदीको बहाव क्षेत्रलाई पुरानै अवस्थामा फर्काउनुपर्ने उल्लेख गर्दै पुनर्निर्माणका लागि बागमती प्रदेश सरकारले करिब ५ अर्ब रुपैयाँको कोष तयार पारेको जानकारी दिए ।

















प्रतिक्रिया